April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार

सबैका लागि खोपको पहुँच सुनिश्चित गर्न कोभाक्सको पहल सराहनीय छ: प्रम ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो, खोपसम्बन्धी सुखद् समाचारबाट प्रोत्साहित हुँदै गर्दा सबैका लागि खोपको उपलब्धताको विषय ठूलो अनिश्चितताको रुपमा देखापरेको उल्लेख गर्दै धनी र गरीब सबैका लागि खोपको पहुँच सुनिश्चित गर्नमा कोभाक्सले गरेको पहलकदमीक सराहना गरेका छन् ।

कोभिड–१९ महामारी सम्बोधन गर्न संयुक्त राष्ट्र संघीय महासभाको ३१ औं विशेष अधिवेशनलाई भर्चुयल माध्यमबाट गरेको सम्बोधनका क्रममा उनले सो कुरा बताएका हुन् ।

उनले खोपको विश्वव्यापी पहुँच सुनिश्चित नभएसम्म संसार महामारीबाट सुरक्षित हुने छैन भन्दै अगाडि भनेका छन्, सम्पूर्ण मानवजगत संकटमा रहेको अवस्थामा जीवन–रक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्न सक्दैन भन्नेमा हाम्रो दृढ विश्वास रहेको छ ।

 सम्बाेधनकाे पूर्णपाठ

विशिष्ट महानुभावहरु !

कोभिड–१९ महामारी सम्बन्धी विशेष महाअधिवेशन आयोजना गर्नुभएकोमा अध्यक्षज्यूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।

अभूतपूर्व गति र व्यापकताका साथ फैलिरहेको महामारीले जो कसैलाई जुनसुकै स्थानमा रहे पनि प्रभावित तुल्याएको छ । १३ लाखभन्दा बढीले ज्यान गुमाइसकेको र प्राय सबै समाज, अर्थतन्त्र र मुलुकहरु गम्भीर रुपमा प्रभावित भैरहेको सन्दर्भमा महामारीको त्रासदी अकथनीय छ ।

विद्यमान महामारी फगत एक स्वास्थ्य संकट मात्र होइन । यो त राष्ट्रहरुबीच आपसी रुपमा तथा आन्तरिक रुपमा चुलिंदै गएको असमानता एवम् मानिसको जीवन र प्रकृतिबीचको बढ्दो असामञ्जस्यविरुद्ध जागरुक हुन बजेको घण्टी हो ।

हो, हामी सबै एउटै प्रकोपको भुमरीमा छौं । हामीमध्ये कसैलाई लाग्न सक्छ कि आफू धेरै सुरक्षित छौं, तर यस्तो होइन । हामी सबैजना खतरामा छौं ।

महामारीले हामीलार्इ एउटा अमूल्य शिक्षा प्रदान गरेको छ ।यो संसार एउटा सानो जहाज हो र हामी सबैजना यसका यात्री । हामीलाई मन परोस वा नपरोस, हामी एउटै भाग्यका हिस्सेदार हौं ।

अध्यक्ष महोदय,

अन्य मुलुकहरु जस्तै नेपाल पनि यो स्तरको संकटको लागि तयार थिएन ।

तथापि, भाइरसको नियन्त्रणका लागि हामीले उपलब्ध सबै राजनैतिक, आर्थिक, मानवीय तथा प्राविधिक स्रोतहरुको परिचालन गरेका छौं ।

हामी मुख्यत तीनवटा उद्देश्यहरुबाट मार्गनिर्देशित भएका छौं: स्वास्थ्य स्याहार प्रणालीको सुदृढीकरण; जनताको जीवनको रक्षा; एवम् दिगो तथा उत्थानशील पुनस्स्थापना ।

आवश्यक परेकालाई निशुल्क परीक्षण एवम् उपचार सेवाहरु प्रदान गरिएको छ । संघीय, प्रान्तीय तथा स्थानीय तहका स्वास्थ्य प्रणालीमा आवश्यक पूर्वाधार, मानवीय तथा वित्तीय स्रोत एवम् चिकित्सकीय उपकरणहरु सुनिश्चित गरिएको छ ।

शुन्यप्रायः अवस्थाबाट शुरु गरेर हामीले मुलुकभर ६८ वटा पी सी आर परीक्षण सुविधासहितका प्रयोगशालाहरु विस्तार गरिसकेका छौं । ७० भन्दा बढी अस्पतालहरुलाई कोभिड–१९ अस्पतालका रुपमा तोकिएको छ । सबै ७५३ स्थानीय तहमा आधारभूत स्वास्थ्य स्याहार सुविधा सहितका अस्पतालहरु निर्माण गर्ने लक्ष्यका साथ हामी अघि बढिरहेका छौं ।

हामीले कोभिड–१९ सम्बन्धी कूल ४८ वटा संहिता तथा निर्देशिकाहरु तयार गरेका छौं ।

स्वास्थ्य मापदण्ड, सुरक्षा र निर्मलीकरण सम्बन्धमा सामाजिक संघसंस्था, व्यक्तिविशेष, आमसंचार जगत तथा सामाजिक सञ्जाल मार्फत भएका जनचेतना अभिबृद्धिका कार्यक्रम एवम् स्वास्थ्य मन्त्रालयले गर्ने दैनिक सूचना संप्रेषण विशेषतः उपयोगी रहेका छन् ।

अध्यक्ष महोदय,

संकटको यस घडीमा देखाएको विश्वव्यापी समन्वय र नेतृत्वका लागि नेपाल संयुक्त राष्ट्संघ तथा विशेषतः विश्व स्वास्थ्य संगठनको सराहना गर्दछ ।

चुनौतीहरुको सामना गर्दै गर्दा हामीलाई विद्यमान संकट निवारण गर्नका लागि एउटा दरिलो विश्वव्यापी सम्बोधनको आवश्यकता  छ ।

सर्वप्रथम र प्रमूखरुपमा, हामीले बहुपक्षीयतालाई स्वच्छ नयाँ जीवन दिनुपर्दछ ।

हामीलाई गरीबी, भोकमरी तथा बढ्दो असमानता लगायत जलवायु संकट तथा विश्वव्यापी महामारीजस्ता हाम्रा समयका गम्भीर चुनौतिहरु सामना गर्नसक्ने पुनःर्सबलीकृत बहुपक्षीयताको आवश्यकता छ ।

यसका लागि हामीले सहकार्य र ऐक्यबद्धताको मार्ग छनौट गर्नुपर्दछ, एकल कार्य होइन ।

दोस्रो, महामारी अन्तरराष्ट्रिय प्रतिबद्धता र सहकार्यबाट पछि हट्ने बहानाको रुपमा प्रयोग गरिनु हुँदैन । विशेष परिस्थितिमा रहेका राष्ट्रहरुलाई आफ्नो अर्थतन्त्र स्थिर बनाउन, आर्थिक स्थिरता रक्षा गर्न तथा ऋण संकटको सामना गर्न बृहत सहयोगको खाँचो छ ।

तेस्रो, खोप सम्बन्धी सुखद् समाचारबाट हामी प्रोत्साहित हुँदै गर्दा सबैका लागि खोपको उपलब्धताको विषय ठूलो अनिश्चितताको रुपमा देखापरेको छ । धनी र गरीब सबैका लागि खोपको पहुँच सुनिश्चित गर्नमा कोभाक्सले गरेको पहलकदमीको हामी सराहना गर्दछौं ।

खोपको विश्वव्यापी पहुँच सुनिश्चित नभएसम्म संसार महामारीबाट सुरक्षित हुने छैन ।

सम्पूर्ण मानवजगत संकटमा रहेको अवस्थामा जीवन–रक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्न सक्दैन भन्नेमा हाम्रो दृढ विश्वास रहेको छ । खोपहरु वास्तवमै विश्वव्यापी सार्वजनिक वस्तुका रुपमा सबै राष्ट्र तथा मानिसका लागि सर्वसुलभ र पहुँचयोग्य हुनुपर्दछ ।

अन्त्यमा, उचित पुर्नस्थापना र असल पुर्ननिर्माणका योजना बनाउदै गर्दा हाम्रा प्रयासहरु एजेन्डा २०३० तथा पेरिस सम्झौता अनुकूल हुनुपर्दछ । हामीले स्वास्थ्य र सामाजिक सुरक्षा प्रणाली; पूर्वाधार र रोजगारी सिर्जनामा लगानी गर्नुपर्दछ ।

यस सन्दर्भमा भएका राष्ट्रिय प्रयत्नहरु अन्तर्राष्ट्रिय सहयोगका परिपूरकका रुपमा रहनुपर्दछ ।

वर्तमान संकटले जीवनको रक्षा तथा समाजको सुरक्षाका लागि विश्वव्यापी एकता र उचित प्रतिबद्धताको माग गर्दछ । मानव सभ्यताले सधै विनाशकारी चुनौतिहरु सामना गरेको र सफलतापूर्वक पुनरागमन गरेको छ । हामी लडखडाउनु हुँदैन । एउटै समुदाय, एउटै सभ्यता र एउटै विश्वका रुपमा हामीले तुरुन्तै कार्य गर्नुपर्दछ । कसैलाई पनि पछि नछोडीकन हामी पहिलेभन्दा उत्तम परिस्थितिमा फर्कनुपर्छ ।

धन्यवाद ।

शीर्ष समाचार

धेरै पढिएको