
इजरायल, इजरायल र गाजाका बिद्रोहीबिच एक–दुई दिनभित्रै युद्धविरामको सम्झौता हुन सक्ने हमासका एक शीर्ष अधिकारीले बताएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इजरायल र प्यालेस्टाइनबिच आक्रमण जारी रहेका बेला हमासका शीर्ष अधिकारीले हिंसा अन्त्यका लागि सहमतिको प्रयास भइरहेको र चाँडै घोषणा हुन सक्ने बताएका हुन् ।
तर इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले आफ्ना नागरिकको शान्ति तथा सुरक्षा सुनिश्चित नभएसम्म आक्रमण जारी नै रहने बताएका छन् ।
यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले मानवीय तथा भौतिक क्षति रोक्नका लागि सावधानी अपनाउन इजरायललाई आग्रह गरेपछि नेतह्याहूले यस्तो बताएका हुन् ।
इजरायली सेनाले गाजामा पूर्वाधारहरुलाई लक्षित गरि बिहीबार बिहानै १०० भन्दा धेरै हवाई आक्रमण गरेको छ भने प्यालेस्टाइनी बिद्रोहीले इजरायलमा लक्षित गरि रकेट प्रहार गरेका छन् ।
गाजाबाट आफ्नो तर्फ हालसम्म चार हजार रकेट आक्रमण भएको इजरायलले जनाएको छ । मे १० देखि सुरु भएको हिंसाका कारण हमास नियन्त्रणको गाजामा १०० भन्दा बढि महिला तथा बालबालिकासहित अहिलेसम्म कम्तीमा २२७ जनाको ज्यान गएको छ ।एजेन्सी







