
काठमाडौं, कोरोना संक्रमणमुक्त भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो निर्वाचन र्याली सम्बोधन गरेका छन् । राष्ट्रपति ट्रम्पले फ्लोरिडाको सनफोर्डमा आयोजित र्यालीलाई सम्बोधन गर्दै आफ्नो स्वास्थ्य राम्रो रहेको र आफू रोग प्रतिरोधी बनेको बताएका छन् ।
सामाजिक दूरी कायम नगरिएको चुनावी सभामा उनले आफूले कोरोना भाइरसलाई पराजित गरेको र सबैले पराजित गर्ने दाबीसमेत गरे । उनले प्रतिस्पर्धी जो बाइडनलाई कट्टर समाजवादीहरूको कठपुतली भएको आरोपका साथै सञ्चारमाध्यम पनि पक्षपाती रहेको बताएका हुन् ।
ट्रम्पले आगामी चार दिनमा निर्वाचनका बेला कडा प्रतिस्पर्धा हुने ठानिएका चारवटा राज्यको भ्रमण गर्नेछन् । अमेरिकामा आगामी नोभेम्बर तीन तारिखमा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।
यही अक्टोबर १ मा संक्रमण पुष्टि भएपछि ट्रम्प तीन दिनसम्म अस्पताल बसेका थिए भने ट्रम्पसँगै उनको ह्वाइस हाउसका शीर्ष अधिकारीहरु पनि संक्रमित भएका थिए ।एजेन्सी







