
काठमाडौं, पाकिस्तानमा अहिले सरकार र विपक्ष दल आमनेसामने भएका छन् । एकले अर्काेको सक्दो विरोध गरिरहेका छन् ।
उर्दू पत्रिका जंगका अनुसार प्रधानमन्त्री इमरान खानले आफ्नाविरुद्ध एक भएका विपक्षी दलका नेतालाई डाकाको संज्ञा दिएका छन् ।
उनले भनेका छन्, ‘सबै बेरोजगार राजनेता एक भएका छन्, यो डाकाहरूको एकता हो । विपक्षीहरू आफ्नो इच्छाबमोजिम जति विरोध जुलुस गर्नुछ गर, तर कानुन तोड्यौ भने सीधै जेलमा जान्छौ र त्यो जेल भीआईपी जेल हुने छैन, आम कैदी बस्ने साधारण कारागार हुनेछ ।’
पाकिस्तानमा सबै प्रमुख विपक्षी पार्टी मिलेर पाकिस्तानको लोकतान्त्रिक आन्दोलन (पीडीएम) गठन गरेका छन् । जसले प्रधानमन्त्री इमरान खानकाे सरकारविरुद्ध आन्दोलन गरिरहेकाे छ । उनकाे राजीनामा माग गरिरहेकाे छ ।
प्रधानमन्त्री इमरान खान पनि विपक्षीविरुद्ध व्यापक विरोधमा उत्रिएका छन्, खासगरी पूर्वप्रधानमन्त्री नवाज सरिफलाई उनले निशाना बनाएका छन् ।एजेन्सी







