
काठमाडौं, उत्तर कोरियामा सत्ताधारी वर्कर्स पार्टीको ७५ औं वार्षिकोत्सवको अवसरमा विशाल सैन्य परेड गरिएको छ ।
नेता किम जोङ उनको उपस्थितीमा उत्तर कोरियाले रातिको समयमा दुर्लभ सैन्य परेडको आयोजना गरेको हो । नेता किमले दुश्मनका सेनाहरुले आणविक खतराका साथै विभिन्न चुनौती थपेको बताउँदै आफ्नो युद्ध क्षमताको सुदृढीकरण जारी राख्ने बताएका छन् ।
परेडमा कोरियाले सार्वजनिक गरेका अत्याधुनिक हतियारमध्ये अमेरिकासम्म पुगेर आक्रमण गर्नसक्ने अन्तरमहादेशीय क्षेप्यास्त्र आइसीबीएम विशेष भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
नयाँ आइसीबीएम सार्वजनिक गर्नुको अर्थ उत्तरले अमेरिकालाई स्पष्ट रुपमा चेतावनी दिएको विश्लेषकहरु बताउँछन् । उत्तर कोरियाले आफूले सन् २ हजार १८ को क्षेप्यास्त्र निशस्त्रीकरणको सम्झौतालाई पालना गरेपनि अमेरिकाले शर्त पूरा नगरेको आरोप लगाउँदै आएको छ ।एजेन्सी







