
न्यूयोर्क, अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख नाघे पनि राष्ट्रपति डोनाल्ड ट्रम्प भने आफ्नै प्रशासनका वैज्ञानिकहरु विरुद्ध वाकयुद्धमा व्यस्त छन् ।
विगत छ महिनाको अवधिमा ट्रम्प प्रशासनले विशिष्ट परिस्थितिमा विज्ञानमा भन्दा राजनीतिमा बढी प्राथमिकता दिएको छ । विशेषज्ञ सल्लाह अनुसरण गरेको भए नयाँ कोरोनाभाइरस अर्थात् कोभिड–१९ बाट हुने क्षति कम गर्न सकिने अध्ययनहरुले देखाएका छन् ।
राष्ट्रपति ट्रम्प र उनका आफ्ना खासखास व्यक्तिले महामारीको गुरुत्वको यथार्थ वैज्ञानिक मूल्याँकनलाई निरन्तर अस्वीकार मात्र होइन, चाकडीको भाषाशैलीमा वैज्ञानिक तथ्यलाई खिसीटिउरी गर्ने प्रयास गरेका छन् ।
गत हप्ता मात्र, राष्ट्रपति ट्रम्पले अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) का प्रमुख डा रोबर्ट रेडफिल्डलाई “भ्रमित” व्यक्तिको संज्ञा दिए किनकि रेडफिल्डले सन् २०२१ को अन्त्यतिर मात्र कोरोनाभाइरस विरुद्धको खोप निर्माण हुने बताएका थिए । कुनै प्रमाण बेगर नै ट्रम्पले आगामी नोभेम्बर ३ को चुनाव अघि नै खोप तयार हुने दाबी गरेका थिए ।एजेन्सी







