जीवन के हो र कसरी जिउने ?
माछा पानीमा पौडिरहेको छ तैपनि थाहा छैन कि उ कहाँ छ । मान्छे यो धर्तीमा बाँचिरहेको छ तैपनि थाहा छैन कि उ कहाँ छ । त्यो माछालाई पानीको अस्तित्व थाहा नभए जस्तै मान्छेलाई पनि जीवनको अस्तित्व थाहा छैन । म कहाँ छु ? म के गर्दैछु ? केही थाहा छैन तैपनि ऊ अन्धकारमा दौडिरहेको छ । आशा जस्तो अन्धकार केही छैन । यसले जिन्दगी डढेलो लगाइदिन्छ । लक्ष्य बिनाको आशा ब्यर्थ छ । अनि मान्छे भौतारिरहन्छ । भेट्नेलाई सोधिहाल्छ कि जीवन के हो ? कुनै एकै शब्दको परिभाषामा जीवनलाई बुझ्नु गलत हुन्छ । जुन अस्तित्वले गर्दा मान्छेको जीवन रहेको छ त्यही हो जीवन ।
बदलिनको लागि बल चाहिन्छ त्यो हो मनको बल, आत्मा सुझाव, आफ्नो मनले मनलाई भन्दै जानुपर्छ, आत्मा सुझाव दिँदै जानुपर्छ कि म जे पनि गर्न सक्छु । अनि आफूलाई राम्रो चिजसँग तुलना गर्नु, उच्चस्तरको मान्छेहरुसँग सँगत गर्नु भनेको आफूलाई बदल्ने पहिलो बाटो हो । बदलिनु भनेको आज बाँचिरहेको संसारलाई त्याग्नु हो । हिजो म जुन मान्छे थिए म आज भिन्नै मान्छे हो भनेर आत्मैदेखि महशुस गरी प्रगतिको बाटोमा अघि बद्नु नै वास्तविक परिवर्तन हो ।
मान्छेलाई बाँचेर मात्र पुग्दैन आफूलाई पूर्णत बदल्नुपर्छ । बदल्नुको मतलब यो हो कि, हिजो म जुन निकृष्ट जिन्दगी बाँचेको थिए । त्यसबाट एक स्तरमाथि उठ्नु अनि जीवन उपायोगी गुणहरुको विकास गर्दै जानु । मनले आफ्नो मनको सुक्ष्म शक्तिलाई आत्मा सुझाव दिँदै जानु भनेको बदलिनु हो । विकासको अर्को नाम नै बदलिनु हो । किताब मात्र पढेर कोही पनि बदलिन सक्दैन जबसम्म दैनिक अभ्यास गरिदैंन । किताब पढ्नु भनेको चेतनाको स्तर वृद्धि गर्नु मात्र हो ।
यो संसारमा प्रकृतिको आफ्नै नियम छ । बिहान घाम उदाउँछ, फेरि राति अस्ताउँछ । असारमा पानी पर्छ, पुर्णिमाको रातमा चन्द्रमा उदाउँछ । त्यसरी नै मान्छेको जीवनमा पनि परिवर्तन भइरहन्छ तर हामी देख्दैनौं । हामी चिन्दैनौं, आफैले आफैलाई त्यही नचिन्नु नै जिन्दगीमा ठुलो दुर्घटना हुनु हो । हामी त भागि रहेछौ हार खाइ खाइ, तड्पी रहेछौ कसैको यादमा । आस्ताउँदै बिलाउँदै अनन्त गतिमा आफैले आफैलाई पुरि रहेछौं । छोडेर जाने मायालाई गल्ली (गल्लीमा कुरिरहेछौं । कति अन्धकार बनाएका छौं हामीले आफ्नै जिन्दगी । जुन कुरा पाइदैंन भन्ने थाहा हुँदा हुँदै पनि त्यसको पछि लागिरहेका छ अनि हामी बर्बाद नभए को हुने ?
निरस अनि निराश मान्छेहरु सुन्दरतालाई पनि कुरुप नै देख्छन । लक्ष्य भए नै जिन्दगीको लक्ष्यमा पुग्न सकिन्छ । वुद्ध एक गाउँमा हिडिरहेका थिए । साझ पर्नुभन्दा पहिले अर्को गाउँमा पुगि सक्नुपर्ने थियो । बाटोमा एकजना किसानलाई उनले सोधे, मित्रनगर कति टाढा छ यहाँबाट । अनि त्यो किसानले भन्यो मात्र दुई माइल टाढा छ, धेरै छैन अब विस्तारै जानुस् । तीन घण्टा हिडिसक्दा पनि मित्रनगर आएन । फेरि अर्को एक वृद्धालाई सोधे ती वृद्धाले पनि –अब दुई माइल बाँकी छ भने । आउनै लागिसक्यो । राम्रोसँग जानुस् नानी । त्यसपछि वुद्धलाई उनका शिष्यले सोधे, भगवान यी वृद्धले पनि दुई माइल टाढा छ भन्यो वास्तविकता के हो ? अनि वुद्धले जवाफ दिए, यिनी हरुले झुटो बोलेका छैनन् । यिनीहरुले मनको परिभाषालाई राम्ररी बुझेका छन् ।
यसरी नै मनमा आसाहरु जगाइ राख्नु पर्दछ कि, अब लक्ष्य नजिकिँदै छ भनेर यसलाई जीवन कला भनिन्छ । संसार विकासको चरम गतिमा हिडिरहेको छ । मान्छेहरु निकै शिक्षित भइरहेका छन् तर साना तिना कुराहरु भुल्दै गइरहेका छन् । जीवनको सुत्रहरु नबुझ्दा दुःख पाइरहेका छन् । आफू परिवर्तन हुनुभन्दा पनि अरुको आलोचना गरेर अरुलाई परिवर्तन गर्न अग्रसर छन् । जति विकास भइरहेको छ त्यति नै विकृति बढ्दै गइरहेको छ । मान्छे जति शिक्षित हुँदैछ त्यति नै साधारण अर्थ हराउँदै गएको छ । अचेल मान्छेहरु राम्रो कुरा सुन्ने, बुझ्ने भन्दा पनि झुठा सपना बाढ्नेहरुको पछि लागिरहेका छन् ।
प्रतिकृया दिनुहोस्