साथी भनेको के रहेछ र ?
तपाईं प्रायः जसो यस्ता मानिसहरूलाई साथी बनाउनुहुन्छ जसले तपाईंका हरेक कुराहरूलाई समर्थन गर्छन् ।
तपाईंले सोच्ने, महसुस गर्ने र बुझ्ने तरिकाहरू साथै तपाईंका रुचि र अरुचिहरू । तपाईंले आफूलाई जस्तो बनाउनु भएको छ, तपाईंले त्यसैको समर्थनको लागि कोही खोजिरहनु भएको हुन्छ यदि तपाईं कसैको साथी हुनुहुन्छ भने, तपाईंले जतिबेला पनि उनको गल्तीहरू औँल्याउने, उनलाई निच देखाउन आवश्यक छैन ।
तर साथसाथै, तपाईंभित्र मानिसहरूबिच अलोकप्रिय वा खरो हुने साहस पनि हुनुपर्छ । अरूहरूमाझ लोकप्रिय बन्ने होडमा, आफ्नो सेरोफेरोमा सुखद माहोल बनाइ राख्ने प्रयासमा हेर्नुस् त तपाईंले आफूभित्र कति अप्रिय भावना दबाएर राख्नुभएको छ ! यदि तपाईंले अप्रियतालाई दबाउनुभयो, यदि तपाईंले माटोमा अप्रियताको बिउ रोप्नुभयो भने, तपाईंले अप्रियताकै फल पाउनुहुनेछ ।
यदि कोही वास्तवमै तपाईंको मित्र हो भने, तपाईंभित्र उसको अगाडि अप्रिय हुने साहस हुनुपर्छ, अनि साथसाथै ऊ प्रति प्रेम र सद्भाव हुनुपर्छ । यतिखेर, तपाईंको मित्रता केवल सहमति, रुचि-अरुचिमा बनिरहेको छ । तर, चाहे तपाईंहरू स्याउ र सुन्तला जस्तै भिन्न–भिन्न भए तापनि, तपाईं असल साथी बन्न सक्नुहुन्छ ।
साथी भनेको के हो ?
साँचो साथी ऊ हो, जसमा तपाईं कुन हदसम्म लन्ठू हो भनेर भनिदिने साहस हुन्छ । अनि त्यसबेला पनि तपाईंप्रति उसमा प्रेम र स्नेह रहिरहनेछ— यही सही अर्थमा मित्रता हो । आखिर, साथी भनेको के हो ? साथी भनेको तपाईं जस्तै अन्योलमा जेलिएको अर्को व्यक्ति न हो । साथी वा मित्र भनेको उत्तम वा पर्फेक्ट मानिस होइन । कुरा यत्ति हो कि जब दुईजना व्यक्तिहरू एकआपसमा यति सहज बन्छन् कि कम्तीमा पनि उनीहरू एक–अर्काप्रति साँचो रूपमा प्रस्तुत हुन्छन्, तबमात्र त्यहाँ मित्रता रहन्छ ।
तपाईंको साथी पनि तपाईं जत्तिकै अस्तव्यस्त र भ्रमित रहेको हुन्छ । तर, यदि दुईजनाले एक–अर्काबिच निष्ठा कायम गर्ने हो भने, उनीहरू सही अर्थमा साथी बन्दछन् । तपाईंसँग एकजना मात्रै नभई थुप्रै साँचो साथीहरू हुनुपर्छ । यदि तपाईंको जीवनमा एकजना पनि त्यस्तो साथी छैनन् भने, तपाईंले आफ्नो जीवनमा केही गर्नु उत्तम हुनेछ । किनकि, मित्रता भनेको एक–अर्काको फाइदाको लागि गरिने आदान–प्रदान वा लेनदेन होइन; मित्रता भनेको दुई जीवनहरूको विशेष मिलन हो ।
प्रतिकृया दिनुहोस्