April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

महिलाको सुरक्षा, सम्मान र रोजगार नै समृद्ध नेपालको आधार

महिला हिंसा भन्नाले महिला भएकै कारण महिला माथी हुने सामाजिक, साँस्कृतिक, आर्थिक, पारिवारिक, शारीरिक, मानसिक, राजनीतिक तथा यौनजन्य रूपमा भोग्नु परेको हिंसालार्ई बुझिन्छ । महिला हिंसाबाट जुनसुकै जातजाति समुदाय र वर्गहरू, ग्रामिण तहदेखि सहरी क्षेत्रमा र तल्लो तहदेखि माथिल्लो निकायसम्म वा सर्वहारा वर्गदेखि सामन्ती, पूँजीपति वर्गका महिला समेत पीडित हुन बाध्य छन् ।

मार्च महिनालाई महिला सशक्तिकरण को रूपमा मनाउँदै आईरहेको छ भने मार्च ८ लाई महिला दिवसको रूपमा मनाउँदै आएको छ । महिला दिवसलाई निकै महत्वका साथ मनाउनु, महिला हिंसाका कुरा गर्नु, समस्या र चुनौतीहरुको मात्र कुरा गर्नु भन्दा पनि समाधानको बाटोहरू खोज्नु नै उपयुक्त देखिन्छ ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा यसदिन विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।
नेपालको सन्दर्भमा संविधानले लैङ्गिक समानताको प्रत्याभूति गर्न महत्वपूर्ण प्रावधानको व्यवस्था गरेको छ । जसबाट महिलाप्रति हुने हिंसा र विभेद हटाउन ठूलो मद्दत पुगेको छ ।

डेनमार्ककी क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरुको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरिन् । जसलाई सम्मेलनले पारित गर्‍यो र सन् १९११ देखि नै महिला दिवस मनाउन थालियो ।

सन् १९१७ मा लेनिनको नेतृत्वमा अक्टोबर क्रान्ति सम्पन्न भएपछि सोभियत कम्युनिस्ट पार्टीले सरकारी मान्यता नै दिएर ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ मनाउने घोषणा गर्‍यो र त्यसपछि संसारभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन थाले ।

विश्वब्यापी रुपमा हेर्ने हो भने युरोप र अमेरिकाका देशमा जति अधिकार पाएका छन्, अहिले पनि त्यति अधिकार एसिया र अफ्रिकाका कतिपय देशका महिलाले लिन सकेका छैनन् । अन्तर्राष्ट्रिय रूपमा महिलाका हकअधिकार र तिनको कार्यान्वयको लेखाजोखा हुन बाँकी नै छ ।

नारी आँट, साहस, शक्ति र मायाको खानी हो, जसलाई कसैले नकार्न सक्दैन । जुन हाम्रा प्राचीन धार्मिक ग्रन्थहरूले पनि त्यसको महिमा ऐतिहासिक कालदेखि गर्दै आएका छन् । “यत्र नार्यस्तु पूज्यन्ते”, जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता रमाउँछन् भन्ने पौराणिक भनाइ रहेको छ यो भनाइलाई सार्थक बनाउन जरुरी छ । हाम्रो मुलुकको इतिहासलाई फर्केर हेर्दापनि राजनीतिक, प्रशासनिक, शैक्षिक, आर्थिक, सामाजिकलगायत क्षेत्रमा महिलाहरुको सक्रिय सहभागिता बढ्दै गएको छ, जुन सकारात्मक पाटो हो ।

महिलाहरुको सक्रिय राजनीतिक सहभागिताले पैतृक सम्पत्तिमा समान हक, घरेलु श्रमको गणनाको संवैधानिक प्रावधान, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा विशेष व्यवस्था, मातृत्व संरक्षणसम्बन्धी सेवामा विस्तार, आफ्नो शरीरमाथि आफ्नो अधिकारलगायत विषयमा कानुनी रूपमा नेपाली महिला अधिकारयुक्त बन्दै गएका छन् । “महिला नेतृत्वमा: कोभिड-१९ संसारमा समान भबिस्यको प्राप्ति” नाराले सार्थकता पाउनेछ ।

कमजोरीलाई हीनताका रूपमा लिने कि शक्तिमा बदल्ने ? कमजोरीलाई पनि शक्तिमा बदल्न सक्नुपर्छ । संसारमा त्यस्ता महान् व्यक्ति धेरै छन्, जसले आफ्नो कमजोरी नै प्रयोग गरेर प्रसिद्धि कमाए । कमजोरीलाई कमजोरीमै सीमित रहन दिएनन् । कमजोरीलाई जित्न दिए, हावी हुन दिए त्यसले आफैँलाई सिध्याउँछ, कमजोरीमाथि हावीहुने प्रयास गरे त्यसले संसार जिताउँछ ।

हरेक कमजोरी एउटा ठाउँमा कमजोरीझैँ देखिएला तर त्यही कुरा अर्को ठाउँमा कमजोरी नदेखिएर सुन्दरता देखिइरहेको हुन सक्छ । र अन्त्यमा महिला शसक्तिकरणको लागि सदैव तत्पर रहेको प्रतिबद्धतासहित महिला एकता तथा समानतालाई सहकार्यमा रुपान्तरण गरौँ ।

“महिलाको सुरक्षा, सम्मान र रोजगार नै समृद्ध नेपालको आधार” हो । त्यसैले महिलाको सुरक्षा, सम्मान, रोजगार हक अधिकारको सुनिश्चिततामा जोड दिनु हामी सबैको दायित्व र कर्तव्य हो । महिला हिंसा अन्त्यका लागि पहल गर्दै आज १११औ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा “लैङ्गिक समानताका लागि समान सोच र व्यवहारः समृद्धिको आधार” भन्ने मुल नारा सफल पारौं ।

शीर्ष समाचार

धेरै पढिएको