April 23, 2024, Tuesday
२०८१ बैशाख ११, मंगलवार

नेकपा नेतृत्वद्वारा जनादेशको अपमान -जीतेन्द्र सिंह महता

सरकार राज्यको सर्वोच्च निकाय हो । सरकारद्वारा गरिने हरेक क्रियाकलापले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा महत्व राख्दछ। मुलुक संचालनमा सरकारको महत्वपूर्ण भूमिका रहन्छ । सरकार प्रमुखका हरेक काम कारवाही भनेको जनताप्रति उत्तरदायी अभिभावकीय भूमिकाकारुपमा देखिनु पर्ने हो। त्यो प्रधानमन्त्री केपी ओलीबाट सुरुवातबाटै देखिएन।

देशलाई आत्मनिर्भरको बाटोतिरको यात्रा गर्दै नागरिकको जीउधनको सुरक्षा, शिक्षा, स्वास्थ्य, उधोग, कृषि लगायतका क्षेत्रमा विकासका पूर्वाधारहरु खडा गरि नागरिकका हक हितको ग्यारेन्टी गर्नु पर्ने स्थितिका साथै कोभिड-१९ को विश्वव्यापी कहरले ल्याएको आर्थिक,सामाजिक चुनौतीसंगै ठूलो विपदमा जुन किसिमले सरकारले काम गर्नु पर्ने हो त्यो हुन सकेन । कोरोनाको महामारीमा नागरिक आहत भईरहेको विषम परिस्थितिमा गलत राजनीतिक चिन्तन, व्यवहार, आन्तरिक झगडा, सत्ताको लुछाचुडीजस्ता क्रियाकलापले प्रधानमन्त्री र राष्ट्रपतिको गैरजिम्मेवारी कदमले व्यवस्थापिका संसद विघटन गरि देशलाई अस्थिरता तर्फ धकेलेका छन् ।

देशमा राजनीतिक अस्थिरता हुँदै गर्दा एकै दललाई झण्डै दुई तिहाई बहुमत सहित ५ वर्षका लागि देश र जनताको लागि काम गर्न दिएको जनादेशको अवमूल्यन हुने गरि भ्रष्टाचारी, अनैतिक, कुकर्म गर्ने गिरोहको संरक्षकजस्तो भएर जुन कदम प्रधानमन्त्री र उनको दलले चालेको छ त्यसको मूल्य सिङ्गो देशले चुकाउनु पर्ने हुन्छ।

प्रधानमन्त्रीले गरेको असंवैधानिक कदम न्यायपालिकामा पुगेको अवस्थामा देश र जनतालाई केन्द्रमा राखी यो संकटबाट पार लगाउन न्यायालयप्रतिको भरोसा टुट्न नदिन न्यायमूर्तिहरुले “दूधको दूध ,पानीको पानी” छुट्ट्याउनु पर्ने आजको प्रमुख आवश्यकता हो। विश्व नै कोभिड-१९ विरुद्धको संघर्षको क्रममा रहेको विषम परिस्थितिमा नेपाल र विभिन्न देशमा रहेका नेपालीहरु प्रताडित भईरहेको अवस्थामा राज्य संचालकहरुले समयमै गम्भीरता नदेखाउदा यसबाट उत्पन्न परिस्थितिका बारेमा युद्धस्तरमा गम्भीर भई कार्य गर्नु पर्ने चुनौतीका बिच संसद विघटन गर्नु प्रधानमन्त्रीको गैह्र जिम्मेवारी, सत्तारुढ दलको देश र जनताप्रतिको बेईमानी, जालझेल र धोकाधडीका रुपमा आम नागरिकले हेरिरहेका छन् ।

आमनागरिकको प्रधानमन्त्री र नेकपासंग प्रश्न

यति बेला आमनागरिकको प्रधानमन्त्री र नेकपासंग प्रश्नको संगालो छ। जनताको मतको अपमान किन ? दुई तिहाई नजिकको सरकार किन यति निरीह र कमजोर? प्रधानमन्त्री र राष्ट्रपति देशको कि कुनै एक गिरोहको ? आदर्शको कुरा गरि कहिल्यै नथाक्ने प्रधानमन्त्रीलाई एकदिन पनि प्रधानमन्त्रीको कार्यालय सिंहदरबार नगई कसरी तलब, भत्ता, सेवा, सुविधा प्रयोग गरि रहनु भएको छ ? के कार्यालय नै नगई सबै राष्ट्र सेवकले घरमै बसी तलब सुविधा पाउँछन् ? राज्यको पैसाबाट करोडौंको उपचार गरि बाँचेको जीवनलाई राष्ट्रहितमा प्रयोग गर्नुको सट्टा किन राष्ट्रमाथि ठूलो बेईमानी ? भ्रष्टाचारी, बलात्कारी, हत्याराको बचाउमा किन प्रधानमन्त्री सकृय ? प्रधानमन्त्रीको अगाडि,पछाडी किन भ्रष्टाचारी र माफिया मात्रै ? सत्तारुढ दलमा किन र केका लागि किचलो ? सत्तारुढ दलभित्रको झगडा कुर्सीका लागि कि जनताका लागि ? नेकपालाई दुई तिहाई नजिक मत दिएर पुगेन किन र के का लागि नयाँ जनादेश ? प्रधानमन्त्रीको फोटो टांसेर बिजुलीका पोल- पोलमा सुरु भएको नयाँ युगको सुरुवात यही हो ? स्थिर सरकार समृद्ध नेपाल, सुखी नेपाली भन्ने चिल्ला मिठा नाराहरु कहाँ गए ? कहाँ आयो रेल, कहाँ गयो, पानी जहाज ? चुच्चे नक्सा पाठ्यक्रममा छाप्न किन रोक लगाएइको ? संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्न किन रोक लगाएको? पटकपटक राष्ट्र माथि धोका गरेर प्रमलाई के फेरि पनि राष्ट्रवादी हुन मन छ ? पहिलो पटकको संविधानसभा विघटनपछि दोस्रो पटकको चुनावका लागि तपाईहरुले चुनाव गराउन नसकेर तत्कालीन प्रधान न्यायाधीश खिलराज रेग्मीलाई जिम्मा दिएको सम्झना छ कि छैन ? संसद फेस गर्न डराएर विघटन गर्ने प्रधानमन्त्रीबाट ६ महिनाभित्र चुनाव गराउन कसरी सम्भव हुन्छ, तपाईलाई आम जनताले कसरी विश्वास गर्ने ? चुनावमा देशलाई पर्ने अरबौंको व्ययभार, अस्थिरताको विषयमा कहिल्यै कल्पना गर्नु भएको छ? भ्रष्टाचारीलाई तह लगाउछु भन्ने तपाईं आफैं भ्रष्टाचारीको नाईके भनेर एसियामै नेपाल पहिलो भ्रष्टाचार गर्ने देशमा ट्रान्सफरेन्सी ईण्टरनेशनलको रिपोर्टलाई तपाईका क्रियाकलापले किन विश्वास नगर्ने ? यी यावत् प्रश्नसंगै कयौं प्रश्नहरु अनुत्तरित हुनुका साथै देशमा भ्रष्टाचार जन्य गतिविधि बढ्नु र भ्रष्टाचारमा सरकारकै प्रधानमन्त्री, मन्त्रीहरु संलग्न भएका समाचार आउनु सरकार भ्रष्टाचार,अनैतिक काममा चुर्लम्म डुब्नुले देशको अन्तर्राष्ट्रिय क्षेत्रमा समेत शिर निहुँरिएको छ।

यो परिस्थितिमा शोकमा रहेका नागरिकको पिडामा मल्हम लगाउने राज्यको कर्तव्य पालना नगर्ने विभिन्न परिस्थितिको सामना गरिरहेका, खाना नपाई आत्महत्या गरि रहेका नागरिकलाई भोक, शोक र रोगबाट सबै मिली बचाउने बेला देशलाई अस्थिरतासंगै थप संकटमा धकेल्ने कार्य सिंगो देशका लागि दुर्भाग्य छ। आम नागरिकले अमिलो कागती रोपेर मिठो सुन्तलाको परिकल्पना गर्नु गलत हो भन्ने कुरा सत्तारुढ दलले प्रमाणित गरेको छ। जे गर्छु भन्ने त्यो कहिल्यै नगरी जनता झुक्याउने तर जे गर्ने त्यो कहिल्यै जनतालाई सत्य नबताउने ईमान नभएका बेईमानहरुलाई चिनेर देशलाई महा संकटबाट पार लगाउनु आजको आवश्यकता देखिन्छ ।

लेखक – नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका उप- सभापति एवं सामाजिक अभियान्ता हुन्

शीर्ष समाचार

धेरै पढिएको