January 24, 2021, Sunday
२०७७ माघ ११, आईतवार

रोजगारको अभाव र युवामा परेको प्रभाव

  • 73
    Shares

नेपालमा बेरोजगारीको सङ्ख्या दिनप्रतिदिन बढ्दो क्रममा छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस र यसले निम्त्याएको आर्थिक मन्दिले विश्वभर बेरोजगारीको सङ्ख्या बढिरहेको छ नै झन नेपाल जस्तो विकासशील देश त यसबाट अछुतो रहने कुरै भएन । यसै त रोजगारीका अवसर कम रहेको नेपालमा अबको अवस्था पहिलेको तुलनामा भयावह हुने सजिलै अनुमान लगाउन सकिन्छ । धेरैजसो मानिस के गर्ने, के खाने र कहाँ जाने भन्ने अन्योलमा परेको बेला अन्य मुलुकमा रहेका श्रमजीवी नेपाली स्वदेश फर्किएकाले झन अर्को चुनौती थपिदिएको छ ।

रोजगारीकै शिलशिलामा नेपालका ८० लाख भन्दा धेरै युवाहरु भारत लगायत विश्वका विभिन्न देशमा पुगेका छन् । कोरोना महामारीपछि धेरै युवाहरु स्वदेश फर्किसकेका छन भने अझै फर्किने क्रम जारि छ । बेरोजगारी युवाहरुको जमात आफ्नो भविष्यको खोजिमा भौतारिरहनु परेको छ । कतिपय मानिसहरु त डिप्रशेन को शिकार हुन पुगेका छन भने समाजमा दिनप्रतिदिन अनैतिक घटना घटिरहेका छन् ।

बढ्दो बेरोजगारी र आर्थिक उपार्जनको उपयुक्त स्रोत नहुनाले देशका युवाहरुको जमात अपराधिक क्रियाकलापमा बढी सलंग्न हुन बाध्य देखिन्छ । देशभित्र भावी सम्भावना नदेखेपछि वैदेशिक रोजगारमा भौतारिएका युवाहरुको जमात सानो देखिदैन भने हरेक युवा विदेशी मोहमा छन् । जुन रहर नभई बाध्यता हो ।

मानसिक छटपटिसँग लड्दै युवाहरु चोक चोकमा बसेर चियासगँ चुरोटको धुवाँसँगै सबै सपनाहरु हावामा उडाइरहेको सजिलै अनुमान गर्न सकिन्छ । सबै युवामा यसको प्रभाव परेको परिप्रेक्ष्यमा म आफैं पनि यो दलदलमा कतिखेर प्रवेश गर्छु भन्ने डर लागिरहन्छ । हाम्रो पुस्ताको भविष्य अन्योलमा ग्रुजिरहेको छ अनि आउँदै गरेको पुस्ताका लागि कुन स्तरको छाप छोड्ने पत्तो छैन । मनमा अनेकौ तरङ्गका छालहरु उत्पन्न भईरहदा कतिबेला छालले विदेशीको मोहमा फालिदिने हो थाहा छैन । देशभित्रै केही गरि देश विकासमा य‍ोगदान दिने मेरो विचारलाई व्यवहारमा लागू गर्न थुप्रै चुनौतिको सामना गर्नुपर्ने देख्छु ।

फरक क्षमता भएका हरेक तह र क्षेत्रमा अध्ययन गर्ने म जस्ता धेरै युवा साथीहरुको शैक्षिक सर्टिफिकेट अनि सो सर्टिफिकेटले भविष्य निर्धारण गर्न सक्दैन ।आज डिग्री पास गरेको व्यक्ति अमेरिका, अष्ट्रेलिया र युरोपको सपना देखिरहेका छन कारण देशभित्र भविष्य को निकास नै छैन । म जस्ता युवाको मानसिकता विदेश र पैसाको छाप कहिल्यै मेट्नै नसक्ने गरि बसेको छ । रोजगारको उपलब्धता शुन्य जस्तै छ, बौद्धिकताले जागिर खाने भन्दा चाकडिवाद र पैसाको आडमा जागिर खाने युवाहरुको हालिमुहालि छ भने हरेक क्षेत्रमा असुरक्षा बढिरहेको देखिन्छ ।

देशका युवाका लागि विभिन्न अवसरसँगै आवश्यक नितिनियम ल्याउन जरुरी छ नै उक्त नियम सहि ढङ्गबाट कार्यन्वयन गर्न पनि सरकार पछि हट्नु भएन । नेपाल सरकारले युवाहरुका लागि प्रभावकारी कार्यक्रम ल्याउन सक्नुपर्छ, ल्याएका कार्यक्रममा पनि नातावाद र कृपावादमा लिप्त हुने प्रवृत्ति बन्द गरे र स्तरिय सीप विकासका कार्यक्रम ल्याई युवाहरुलाई स्वरोजगार बनाउनतर्फ लाग्नुपर्छ । प्रत्येक नागरिकको सुरक्षाको ग्यारेन्टी सरकारले लिन सक्नुपर्छ । तल्लो तहदेखि माथिल्लो तहसम्म भ्रष्टाचार निर्मुल पार्दै देश विकासमा युवा वर्गलाई प्राथमिकता दिनु आजको आवश्यकता हो ।

शीर्ष समाचार

धेरै पढिएको