March 19, 2024, Tuesday
२०८० चैत्र ६, मंगलवार

दशैकाे अनुभुति : घर जाँदा गाउँनै चम्किलो र सुन्दर देखिन्थ्यो

सामान्यता बर्षको आदिमा आउने यो हिन्दुहरुको माहान चाड सके सम्म राम्रो संग मनाउँ भन्ने हुन्छ, न धनी न गरिब सबैलाई यस चाडले छुट्टै रौनक र उमङग ल्याउने गर्दछ । दशैंको परिभाषा, व्याख्या र अनुभव मान्छे अनुसार फरक फरक हुनु स्वभाविक हो । दशैंको पृष्ठभूमि लाई हामी आफैं आफ्नै हिसाबले सम्झिन सक्छौं । मेरा पनि केहि अनुभव छ यस महान चाडलाई फर्केर हेर्दा, केहि मानसपटलमा ताजा रहि रहेका कुराहरु :बिगतका बर्षहरुमा दशैं आउन लाग्यो भनेपछि केहि महिना अघि देखि नै दिन गन्ती गरिन्थ्यो र कहिले स्कुल बिदा होला भन्ने मनमा कौतहलता हुने गर्दथ्यो ।

सके सम्म दशैंको गृहकार्य थोरै होस र बिदा चाहिँ तिहार सम्म नै होस भन्ने मनमा लागि रहन्थ्यो । परिक्षा चाँडै सकेर गाउँ जाने हतारो मनमा रहिरन्थ्यो र नतिजालाई खासै ख्याल राखिदैन्थ्यो ।गाउँ गएपछि को आए र को आएनन् भनेर बुझ्न गइन्थ्यो र आफु चाडै आएकोमा मन मनै खुशी भइन्थ्यो । फुलपातीदेखि गाउँका काका, काकी,दाई, दिदीबहिनि र इष्टमित्र आफ्ना आफन्त आउने लर्काे सुरु हुन्थ्यो र कोहि भने परदेशबाट दशैंकै लागि भनेर आउने गर्दथे । फलानो यसपाली नआउने भो रे ! फलानो भोलि आउँछ रे ! भन्ने जस्ता खबर सजिलै कानमा पर्थ्यो ।

काका, काकी दाई, दिदी बहिनी र इष्टमित्र आफ्ना आफन्त आउँदा सामान्य कुरा आउदैन थियो दशैं आउथ्यो ! हातहातमा झोला आउथ्यो, दोलालघाट, बनेपा, धुलिखेल देखिको कपडा, फलफुल, तरकारी, तेल मसला अर्थात दशैंको लागि जे जो चाहिन्थ्यो ती चिज आउथ्यो । दशैमा घर जाँदा गाउँनै डाडोबाट नै गाउचम्किलो र सुन्दर देखिन्थ्यो । घर कमेरो र रातो माटोले पोतिएको हुन्थ्यो, तलपट्टी सिमिको पात टिपेर त्यसलाई कुटेर रस बनाई पोत्दा केहि फरक देखिन्थ्यो ।पिङ हाल्नको लागि कस्को बाँस काट्ने सल्लाह हुन्थ्यो र पोहोर दशैंमा फलानोको काटेको यो पालि यसको काटौँ ! मादल खामो पहिलाकै हाल्ने कि अर्को काट्ने भनेर विभिन्न मत आउँथ्यो ।

तलको गाउँलेलाई पनि हुने गरि समिको बोटमा पिङ हाल्नु पर्छ है ! आदि इत्यादि गफ हुन्थ्यो र त दशैं त्यो नै हो जस्तो लाग्छ । क्यारेम बोर्ड, तास, लंगुर बुर्जा खेल्नेको भन्दा हेर्नेको भिड बढी हुन्थ्यो र धेरै पछि गाउँ आएका हरु सबैको घरमा हालखबर बुझ्न आउँथे र त्यो भिडमा हो मा हो मिलाउथे अनि खेलमा उर्जा सहितको हाँसो र त्यसले उत्पन्न गरेको माहोल बन्दा पो त दशैं, दशैं जस्तो लाग्थ्यो । टीकाको दिन आफ्नो घरमा टीका लगाएर आफन्त, मामाघर मात्र नभएर बुढा मावली पनि गइन्थ्यो र पूर्णिमाको दिन दक्षिणा गन्दाको त्यो पाँचका नोट देखि सयका नोटसम्म नयाँ र बास्नादार हुन्थे । त्यस नोटमा पनि कुनै पुरानो लागेर साट्दा निकै खुशि भएर फलानोलाई छक्काएँ जस्तो लाग्थ्यो ।

अहिले हुने दशैँ बिलकुलै फरक लाग्ने गर्दछ , गाउँ नगए पनि दशैं मानिन्छ, पिङ नखेलेर पनि दशैं हो भनिन्छ । धेरै बर्षमा गाउँ ठाउँ जाने चलन छ ।“त्यो पिङ हाल्ने रुखको हाँगो भाचियो होला या त काटियो होला । बिकासको नाममा कतै त्यो बाँसको घारी नै फाँडियो कि ! अहिलेको दशै, पहिलाको जस्तो नभएको आभाष हुन्छ, केहि फिक्कापन प्रत्येक आउने दशैले दिएको लाग्छ । आजकालको दशै केहि हदसम्म ठगिको दशै पनि हो जस्तो लाग्छ, मिसावट भरिएको दशै र मिठास गुमेको दशै” । आफ्नैले आफ्नालाई ठग्ने परम्परा छ ।

हर कुरामा ठगिन्छ मानिस, नुन देखि सुनसम्म र विकट स्थानमा भएको आफ्नो घर जाने टिकट सम्म । समय बद्लियो गुणस्तरमा भन्दा बढी हामी परिणाम मुखि पो भयौ कि ? जीवन स्थर संगै हामीले त्यो रौनक र उमङग बिर्सियौ कि ? खैर, मनले त्यहि उत्साह र उमङग भरिएको दशै खोज्छ । दशै बद्लियो कि हामी ? दशै भनेपछि छुट्टै तरङग उत्पन्न हुन्थ्यो मस्तिस्कमा, दशैमा पाइलट, डाक्टर आदि ईत्यादिको आशिर्वाद पाउदा लाग्थ्यो कि म भैसके र त बासको खोस्टा र कागजको पिलेन उडाईन्थ्यो ।

कोरोनाले हानेको अस्त्र हामीलाई पनि गहिरो लागेको छ र यो बेला सायदै सबैको दशैं रमाइलो होला । तर कोरानाले गर्दा हामी प्रायःजसोलाई गाउँ धकेलेको छ र कतिपय मानिस गाउँ मै छौँ । कतै कोरानाले हामीलाई त्यो बालापनको दशैँ फर्कायको त हैन ?माहामारीले कतै अवसर पनि जुटाएको त हैन ? सरकारले जाहाँ छौँ त्यहि दशैं मनाउ भनिरहँदा, हामी गाउँमा भएका र गएकाले सुरक्षित भएर यो रौनक र त्यो आफ्नो दशैँ ल्याउने समय जस्तो लाग्छ ।

तर विगत भन्दा फरक विल्कुल छ । केही अपुग जस्तो केही नभए जस्तो । इतिहास देखि मान्दै आएको यस माहान चाड जस्तोसुकै भएपनि दशैं मनाउनु नै छ , तर स्वास्थ्य मापदण्ड सहितको चाडपर्व मनाउँ स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपालीलाई विजयादशमी तथा शुभदिपावली एवंम नेपाल स्म्वत र छठ पर्वको हाद्धिक मंगलमय शुभकामना ।

शीर्ष समाचार

धेरै पढिएको