
काठमाडौं, इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको चौथो खेलमा राजस्थान रोयल्स विजयी भएको छ । यूएईको शारजाह क्रिकेट रंगाशालामा हिजो साँझ भएको खेलमा राजस्थानले गत वर्षको उपविजेता चेन्नई सुपरकिङ्ग्सलाई १६ रनले हराउँदै लिगमा आफ्नो विजयी शुरूवात गरेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै २ सय १६ रन जोड्न सफल भयो । २ सय १७ रनको फराकिलो लक्ष्य पछ्याउने क्रममा चेन्नईले २ सय रन मात्र बनाउन सक्यो । राजस्थानको जितमा सञ्जु स्यामसनले ७४ रन र स्टीभ स्मीथले ६९ रनको योगदान गरे ।
योसँगै आज कोलकाता नाईट राईडर्स र मुम्बई इन्डियन्सबीच खेल हुँदैछ । शेख जायद रंगशालामा हुने उक्त खेल नेपाली समयानुसार साँझ ७ बजेर ४५ मिनेटमा शुरू हुनेछ ।






