
न्यूयोर्क, अमेरिकी ओपनको यस वर्षको उपाधि हासिल गर्न अस्ट्रियाका डोमिनिक थाइम सफल भएका छन् । पहिलो दुई सेट लगातार हारेर निराश भइसकेका थाइमले अन्तिम सेटमा टाइब्रेकमा जर्मनीका अलेक्जेन्डर जेरेफलाई पराजित गरेका थिए ।
कोरोनाभाइरस महामारीका कारण विनादर्शक आर्थर एश रंगशालामा भएको यस प्रतिस्पर्धामा थाइमले जेरेफलाई २–६, ४–६, ६–४, ६–३, ७–६ (६) ले पराजित गरे ।
यो उनको पहिलो ग्रान्डस्लाम उपाधि हो । झण्डै चार घण्टा २ मिनेट चलेको यस प्रतियोगिताको अन्त्यतिर दुबै खेलाडी खुट्टा बाउँडिने र शिथिल देखिएका थिए ।
अस्ट्रियाका २७ वर्षीय थाइमले प्रतियोगिता सकिएपछि प्रतिक्रिया दिँदै आफूमा शरीरभन्दा पनि प्रतियोगिता जित्छु भन्ने आत्मविश्वास बढेको बताए ।







