
काठमाडौं, नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले आफ्नो एक वर्षको पारिश्रमिक पाएका छन् । उनीहरुले सन् २०१९ को पारिश्रमिक पाएका हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका २२ खेलाडी तथा एक भिडियो एनालिस्टलाई एक वर्षको पारिश्रमिक उपलब्ध गराएको हो । क्यानले बुधबार सबैको खातमा रकम जम्मा गरेको जनाएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पारिश्रमिक नेपाल क्रिकेट सङ्घ (क्यान)को खातामा पठाएको थियो । उक्त रकम क्यानले खेलाडीको खातामा जम्मा गरेको क्यानका कोषाध्यक्ष रोशनबहादुर सिंहले जानकारी दिनुभयो । राष्ट्रिय टोलीका खेलाडीहरुले सन् २०१९ पछि आफ्नो नियमित पाउनुपर्ने पारिश्रमिक पाउन सकेका थिएनन् । क्यानले नेपाली खेलाडीलाई ए, बी र सी श्रेणीमा विभाजन गरेको थियो ।
उनीहरुमध्ये ए श्रेणीमा रहेका खेलाडीले मासिक रु ४५ हजार, बी श्रेणीमा रहेका खेलाडीले रु ३५ हजार तथा सी श्रेणीमा रहेका खेलाडीले रु २५ हजार पारिश्रमिक पाएका हुन् । क्यानले यसअघि ए श्रेणीमा रहेकालाई मासिक रु ३५ हजार, बी श्रेणीमा रहेकालाई रु २५ हजार तथा सी श्रेणीमा रहेका खेलाडीलाई रु १५ हजार पारिश्रमिक उपलब्ध गराउँदै आएको थियो ।







