
काठमाडौं, पुरानै गल्ती दोहोर्याएपछि सन्दीप लामिछाने सम्मिलित जमैका तालावाज ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)को सेमिफाइनलबाटै बाहिरिएको छ । जमैकाले विगतका खेलहरूमा जस्तै कमजोर ब्याटिङ गरेपछि ट्रिनबागो नाइट राइडर्स सहजै फाइनलमा प्रवेश गरेको छ ।
मङ्गलबार राति सम्पन्न सेमिफाइनलमा नाइट राइडर्सले जमैकालाई नौ विकेटले पराजित गरी फाइनलका लागि स्थान बनाएको हो । नाइट राइडर्स सीपीएलको उपाधिको हकदार टोली हो । उसले जमैकासितको खेलमा पनि त्यही कुरालाई सिद्ध गर्यो । समूह चरणका १० वटै खेल जितेर शीर्ष स्थान बनाएको नाइट राइडर्सको खेल जित्ने आधार ब्याटिङ हो तर जमैकासितको सेमिफाइनलमा नाइट राइडर्सले बलिङ पनि उत्तिक्कै राम्रो गर्यो ।
प्रतियोगितामा उत्कृष्ट बलिङ गर्दै आएका लेग स्पिनर सन्दीप लामिछाने भने नाइट राइसर्डसितको खेलमा विकेट लिनबाट चुके । उनले चार ओभर बलिङ गर्दै २९ रन खर्चिए । तीन वाइड बल फालेका उनको बलमा नाइट राइडर्सका खेलाडीले एक छक्का तथा दुई चौका समेत हाने । प्रतियोगितामा सर्वाधिक विकेट लिनेको सूचीमा उनि पाँचौँ स्थानमा र रहे । नाइट राइडर्ससितको सेमिफाइनल खेल खेल्नुअघि सन्दीप सर्वाधिक विकेट लिनेको सूचीमा चौथो स्थानमा थिए ।







