
काठमाडौँ, ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल)अन्तर्गत आइतबार राति भएको खेलमा नेपाली खेलाडी सन्दीप लामिछानेले किफायती बलिङ गरे ।
सेन्ट लुसिया जोउक्ससितको खेलमा उनले उत्कृष्ट खेल प्रदर्शन गर्दै एक विकेट लिए लिएका हुन । यद्यपि समूह चरणको अन्तिम खेलमा सन्दीप आबद्ध जमैका तलावाज भने सेन्ट लुसियासित ११ रनले पराजित भएको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको सेन्ट लुसियाले ६ विकेट गुमाएर १४५ रन बनाएको थियो । एक सय ४६ रनको लक्ष्य पछ्याएको जमैकाले भने ९ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो । जमैकाका लागि प्रारम्भिक ब्याट्सम्यान ग्लेन फिलिप्सले ४९ रन बनाए पनि अरुको खेल प्रदर्शन निराशाजनक रह्यो । जमैकाले अब सेमिफाइनल खेल मङ्गलबार ट्रिबागो नाइट राइडर्ससित खेल्नेछ ।







