
काठमाडौं, विश्व टेनिसको शिर्ष वरियताका नोभाक जोकोभिचलाई अमेरिकामा भइरहेको युएस ओपन टेनिस प्रतियोगिता खेल्न अयोग्य घोषित गरिएको छ ।
प्रतियोगिताको चौथो चरणको खेल चलिरहँदा बाहिरी घेरामा बसेका निर्णायकलाई बलले हिर्काएपछि सर्वियन स्टार जोकोभिचलाई खेल अनुशासनको उलङ्घन गरेको भन्दै प्रतियोगिताबाट निकालिएको हो ।जारी ग्राण्डस्लाम उपाधिको दावेदार मानिएका जोकोभिचलाई आफ्नै गलत कदमले १८औ पटक उपाधि जित्ने अवसरबाट विमुख हुनुपरेको छ ।
स्पेनका खेलाडी पाब्लो करिनो बुस्टासँग ६-५ को अवस्थामा सर्भिस गर्न गएका जोकोभिचले सर्भिस विगारेपछि खल्तिबाट अर्को बल निकालेर भुईंमा हानेका थिए ।त्यही बल गएर बाहिरी घेरामा निर्णायकको जिम्मेवारी सम्हालिरहेका महिला निर्णायकको घाँटीमा लागेको थियो ।
घटना लगत्तै बसेको निर्णायकहरुको बैठकमा लामो बहस पछि जोकोभिकले जानिजानी गल्ती गरेको निष्कर्ष निकाल्दै जारी खेलका लागि अयोग्य घोषित गर्ने निर्णय भएको थियो ।







