नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनशिपमा महिलातर्फ नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब सेमिफाइनलमा पुगेका छन् ।
त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा पुलिसले एपीएफलाई ३–२ को सेटमा हरायो । आज हारे पनि यसअघिका दुई खेल जितेको एपीएफ पनि सेमिफाइनलमा पुगेको हो । पुलिसले पहिलो सेट २५–२१, दोस्रो सेट २५–१५ र पाँचौं सेट १५–९ ले जित्यो । एपीएफले तेस्रो सेट २५–२२ र चौथो सेट २५–२१ ले जित्यो ।
यस्तै महिलातर्फ नै अहिले एभरेस्ट भलिबल क्लब र न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबबीच खेल भइरहेको छ ।आजै प्रतियोगिताको पुरुषतर्फ नेपाल एपीएफ क्लब र खिल्जी युवा क्लब क्वाटरफाइनलमा पुगेका छन् । एपीएफले मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो । यस्तै खिल्जीले पनि ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हरायो ।
यसअघि रुकुम पश्चिम भलिबल क्लब, त्रिभुवन आर्मी क्लब, हेल्प नेपाल स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब क्वाटरफाइनलमा पुगिसकेका छन् । यही पुस १९ गतेसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ८ र पुरुषतर्फ १२ टोलीको सहभागिता छ ।







