एनपीएलमा प्यारो लुम्बिनी लायन्स
नेपाल प्रिमियर लिग (एनपीएल) मा समर्थकले आ–आफ्नै टोलीलाई माया गर्नु स्वाभाविक हो । सुदूरपश्चिमसँग आफ्नै जुझारु दर्शक छन्, जनकपुर बोल्ट्सका एकताबद्ध छन् । विराटनगरका वीर समर्थकदेखि कर्णालीका याक्स, काठमाण्डौका गोर्खाज, पोखराका एभेन्जर्स र चितवनका राइनोज–सबैले आफ्नो भूगोलको रङ्ग र गर्व बोकेर टोलीलाई साथ दिन्छन् ।
तर यसपालिको एनपीएल सिजन–२ ले एउटा अनौठो, मन छुने दृश्य देखायो–लुम्बिनी लायन्सप्रति बढ्दो प्रेम । लुम्बिनीलाई आफ्नो प्रदेशका दर्शकले त निसर्त माया गर्छन् नै । त्यसमाथि अर्को सुन्दर पक्ष–अन्य प्रदेशका समर्थकले पनि लुम्बिनीलाई आफ्नै टाेलीझैँ अपनाएको देखियो ।यस सिजन रङ्गशालामा उभिएर चर्को आवाजमा हुटिङ गर्ने, झण्डा फहराउने, गीत गाउने धेरै समर्थक लुम्बिनीका थिएनन्–तर उनीहरूको उत्साह त्यत्तिकै गहिरो थियो ।
आफ्नो भूगोलभन्दा परका दर्शक पनि लुम्बिनीलाई साथ दिएको देखियो–यही भावनाले लुम्बिनी लायन्सलाई केवल एक प्रदेशको प्रतिनिधि नभई सबैको मन जित्ने, देशभरको साझा टाेली बनाइदिएको छ ।
काठमाण्डौको नैकापका सुबोधराज थापा काठमाण्डौकै स्थानीय हुनुहुन्छ । तर एनपीएलमा भने उहाँको समर्थन लुम्बिनी लायन्सलाई छ । उहाँको समर्थनको मूल आधार–लुम्बिनीमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल भएर हाे ।
‘रोहितको ब्याटिङ हेर्दा नै मन प्रफुल्ल हुन्छ’, सुबोध भन्नुहुन्छ, ‘उहाँ क्रीजमा उत्रेपछि टिकेर खेल्ने हुँदा खेलको वातावरण नै बदलिन्छ ।’
रोहित दबाबको बेलामा पनि संयमित रहनु, टोलीलाई सम्हाल्न सक्नु र रणनीति मिलाएर खेल घुमाउन सक्ने भएका सुबोधलाई रोहित र रोहितले कप्तानी गर्ने लुम्बिनी लायन्स मन परेकाे हाे ।उहाँ भन्नुहुन्छ, ‘रोहितको नेतृत्वमा लुम्बिनी अझ परिपक्व देखिन्छ । यसपालि रोहितको कप्तानीले नै लुम्बिनीलाई एनपीएल ट्रफीसम्म पुर्याउनेछ भन्नेमा म ढुक्क छु ।’राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलका समर्थक देशभरि नै भएकाले लुम्बिनीलाई समर्थन गर्ने पनि देशभरिकै समर्थक छन् । सुबोधराज थापाजस्ता धेरै दर्शकलाई लुम्बिनी लायन्स मन पर्नुको अर्को ठूलो कारण–लुम्बिनीले नेपाली क्रिकेटलाई दिएको योगदान हो ।
आजको पुस्ताले सम्हालिरहेको नेपाली क्रिकेटको मेरुदण्डमा धेरै नामहरू लुम्बिनीकै छन् । कप्तान रोहित पौडेलसँगै सोमपाल कामी, कुशल भुर्तेल, कुशल मल्ल–सबै लुम्बिनीकै हुन् । रोचक कुरा के छ भने, लुम्बिनीमै जन्मिएका यी खेलाडी अहिले एनपीएलका चार टाेलीका कप्तान बनेर उभिएका छन् । सोमपाल कामी (कर्णाली याक्स), कुशल भुर्तेल (पोखरा एभेन्जर्स), कुशल मल्ल (चितवन राइनोज) ।
आफ्नो टोलीलाई मन पराउने दर्शकहरू पनि आफ्नो आइडल खेलाडीको जन्मभूमिका कारण लुम्बिनीलाई दोस्रो वा तेस्रो प्रिय टिमका रूपमा रोज्ने गरेको तथ्य आमदृश्य हो ।
लुम्बिनी नेपाली क्रिकेटको इतिहाससँग सुनौलो अध्याय बनेर पनि जोडिएको छ । नेपालले पहिलो पटक सन् २०१४ को टी–२० विश्वकप खेलेको त्यो क्षण कसले बिर्सिन्छ र ? त्यो यात्राका दुई महत्त्वपूर्ण नाम पनि लुम्बिनीकै थिए–वसन्त रेग्मी र शक्ति गौचन ‘द पावर’ । बङ्गलादेशमा भएको समूह चरणका खेलमा शक्ति गौचनको बलिङले नेपाललाई जिताएको आज पनि दर्शकको आँखा अघि झलझली आउँछ ।
लुम्बिनीका योगदान केवल अतितमा सीमित छैन । आउँदाे पुस्ताको भविष्य पनि यतैबाट जन्मिँदै छ–१९ वर्षमुनिको टोलीका कप्तान देव खनाल, प्रतिश जिसी, शाहब आलम, अनिल खरेल, अर्जुन कुमाल जस्ता प्रतिभाहरू अहिले लुम्बिनीको गर्व बनेका छन् ।यिनै कारणले लुम्बिनी र नेपाली क्रिकेटबीचको सम्बन्ध माया, योगदान र इतिहासले गाँसिएको अटुट नाता बनिसकेको छ ।
लुम्बिनी लायन्सको लोकप्रियता बढ्नुको अर्को महत्त्वपूर्ण कारण भूगोल पनि हो । १२ जिल्लाले बनेको लुम्बिनीमा पहाड, मधेशको भौगोलिक रंग मिसिएका छन् । विशेषगरी रुपन्देही, कपिलवस्तु, नवलपरासी, दाङ, बाँके र बर्दिया जस्ता तराईका जिल्लामा भारतसँगको खुला सीमा, क्रिकेटप्रतिको पुरानो आकर्षण र निकटताले खेलप्रतिको लगाव झनै बढाएको छ । यही कारणले जनकपुर बोल्ट्सलाई समर्थन गर्ने धेरै दर्शक पनि लुम्बिनीलाई दोस्रो प्रिय टोली मानेर समर्थन गर्छन् ।
पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, प्यूठान, पाल्पा, पूर्वी रुकुम र रोल्पामा पनि क्रिकेटले राम्रो पहिचान बनाइसकेको छ ।सुदूरपश्चिम, कर्णाली र पोखरा क्षेत्रसँग लुम्बिनी जोडिनु पनि यसको समर्थक आधार फैलिनुको अर्को कारण बनेको छ–लुम्बिनीले धेरैको साझा भूगोलको अनुभूति दिन्छ ।
यही भावनाको एउटा उदाहरण–सर्लाही मलकवानपुरका निर्मल मिश्र । अहिले बानेश्वरमा बस्ने उहाँ एनपीएलमा जनकपुर बोल्ट्सका निष्ठावान् समर्थक हुनुहुन्छ । तर जनकपुरसँगै उहाँको मन लुम्बिनी लायन्सतर्फ पनि उस्तै तानिन्छ ।
निर्मल भन्नुहुन्छ, ‘पहिलो सिजनमा लुम्बिनी खासै बलियो थिएन, धेरैले वास्ता पनि गरेनन् । तर यो सिजनको टिम बदलिएको छ–संयमित, सन्तुलित र जित्ने शक्ति भएको छ ।’त्यसैले एनपीएलमा लुम्बिनीलाई अरू भूगोलका समर्थकले पनि उति नै माया र समर्थन गरेको देखिन्छ ।लुम्बिनीमा अरू खेलभन्दा क्रिकेटको लोकप्रियता अलग्गै छ । विद्यालयदेखि टोल, गाउँदेखि वडा र पालिकासम्म–जहाँ गए पनि पहिलो रोजाइ क्रिकेटकै हुन्छ ।
कतै–कतै अझै अभिभावक खेलप्रति त्यति उत्साहित नदेखिए पनि गाउँघरमा धेरै युवाको शनिवारको बिदा भने क्रिकेटमै बित्छ । केही बारीमा, केही खोलाको किनारको बगरमा कतै न कतै खेलिरहेकै हुन्छन् । एउटा बल झाडीमा हराउँदा झाडी नै फाडेर खोज्दै गरेको फोटो अहिले पनि सामाजिक सञ्जालमा देखिन्छ । ती तस्वीरहरूले धेरैको मनमा पहिलो ब्याट, पहिलो छक्का र साथीहरूको हाँसो फेरि स्मरण गराइदिन्छन् ।
यही वातावरणले नयाँ पुस्तामा क्रिकेटप्रतिको उत्साह झनै बढाएको प्यूठानकाे झिमरुक गाउँपालिकाका सन्दीप जिसी बताउनुहुन्छ । अहिले त गाउँघरमै अभिभावकहरूले पनि ‘क्रिकेट खेलेको राम्रो’, ‘राम्रोसँग खेल’ भनेर प्रोत्साहन दिन थालेका छन् ।
सरकार, स्थानीय तह, समाज र परिवार–सबैको सहयोगले लुम्बिनीमा क्रिकेटको क्रेज अहिले उचाइमा पुगेको छ । यही कारणले लुम्बिनी केवल क्रिकेट खेल्ने प्रदेश मात्रै होइन, क्रिकेटमा बाँच्ने प्रदेश बन्दै गएको छ ।
खेलाडी र भूगोलका कारण लुम्बिनी आकर्षक त छँदै छ, तर पछिल्लाे समयमा लुम्बिनीले दिएको अर्को उपहारले देशभरका क्रिकेटप्रेमीलाई झनै चकित पार्याे–एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशाला । यति कम समयमा क्रिकेट स्टेडियम तयार पार्नुले लुम्बिनीमा कति ठूलो क्रिकेटप्रेम छ भन्ने कुरा झन् स्पष्ट पारेको छ ।
अघिल्लो संस्करणमा लुम्बिनीले अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेन । तर यो संस्करण भने शुरुआत जीतसँगै नयाँ ऊर्जा लिएर आएको छ । यसपालिको लुम्बिनी लायन्स केवल नामकै होइन–टिम संयोजन, विदेशी र स्वदेशी खेलाडीको सन्तुलन र रणनीतिमा पनि पूर्णरूपमा परिपक्क देखिन्छ ।
क्रिकेट एक–दुई खेलाडीको भरमा जितिने खेल होइन । ११ जनाले एउटै तालमा खेले मात्रै जीत सम्भव हुन्छ । यही तालमेल मिलाउन लुम्बिनीले यस सिजन केही महत्त्वपूर्ण परिवर्तन गरेको छ–अनुभवी विदेशी स्टारहरू र स्वदेशी प्रतिभाहरूको उत्कृष्ट मिश्रण छ ।
टोलीमा अहिले अफगानिस्तानका गुलबदीन नइब, अस्ट्रेलियाका डी’आर्सी थोर्टो, जेजे स्मित, रुबेन ट्रम्पलम्यान जस्ता अन्तर्राष्ट्रियस्तरका दिग्गज छन् ।
स्वदेशीमा कप्तान रोहित पौडेल, दिनेश अधिकारी, सन्दीप जोरा, अभिषेक गौतम, शेर मल्ल, समीर अली मुस्लिम, दिलीप नाथ जस्ता खेलाडीले टोलीलाई मजबुती दिएको छ ।यी सबैले मिलेर लुम्बिनीलाई पछिल्लो सिजनभन्दा धेरै सन्तुलित र दाबेदार बनाएका छन् ।
याे टिमले धेरैका मनमा आशा जगाइरहेको छ–त्यसमध्ये एक हुनुहुन्छ खोटाङका आयुष पोखरेल । अहिले काठमाण्डाैमा एजेन्सी चलाउने उहाँ रोहित पौडेलका कट्टर समर्थक हुनुहुन्छ ।
फुर्सद मिल्दा उहाँ त्रिवि रङ्गशाला पुगेर लुम्बिनीलाई साथ दिनुहुन्छ ।
‘पोहोर चाहेको प्रदर्शन हेर्न पाएनौँ’, आयुष भन्नुहुन्छ, ‘तर यो सिजनको टिम हेर्दा–यो पल्ट पक्का केही विशेष हुनेछ जस्तो लाग्छ ।’त्यसैले यसपालि रङ्गशालामा लुम्बिनी लायन्सलाई समर्थन गर्न आएका दर्शकहरूको भीड नै अलगै देखियो ।
टोलीले राम्रो प्रदर्शन गर्नेछ भन्ने विश्वास समर्थकलाई छ । पाल्पाकाे रामपुरका जीवन क्षेत्री अहिले कीर्तिपुरमा बसेर पढ्नुहुन्छ । खेल हेर्न त्रिवि क्रिकेट मैदानमा पुग्दा उहाँ लुम्बिनीको झण्डा समातेर बसिरहनुभएको थियो ।यो सिजनको लुम्बिनी अघिल्लो वर्षभन्दा एकदमै फरक छ’, उहाँ भन्नुहुन्छ, ‘टाेलीकाे ऊर्जा नै बदलिएको छ ।’
त्यस्तै काठमाण्डौकाे लाजिम्पाटमा बस्ने प्यूठानकाे झिम्रुक गाउँपालिकाका राजेश महतरा पनि यसपालि उत्साहित समर्थकमध्ये एक हुनुहुन्छ । ‘राम्रो विदेशी खेलाडी आएपछि टाेली सन्तुलित देखिएको छ’, राजेशको विश्वास छ, ‘यो सिजन लुम्बिनीले राम्रो नतिजा निकाल्नेछ ।’


प्रतिकृया दिनुहोस्