
पहिलोपटक विश्वकपमा डेब्यु गरेको मोरक्को फिफा महिला विश्वकपको अन्तिम १६ मा प्रवेश गर्दा उपाधी दावेदार तथा दुई पटकको च्याम्पियन जर्मनी भने महिला विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।
पहिलो सहभागितामै समूह चरणको अन्तिम खेलमा शीर्ष स्थानमा रहेको कोलम्बियालाई १-० गोलले पराजित गर्दा अर्को खेलमा आफू अनुकूलको नतिजा निस्किएपछि मोरक्को समूह एचबाट उपविजेताको रुपमा प्रि-क्वाटर फाइनल प्रवेश गरेको हो ।
यसअघिको खेलमा उपाधी दावेदार मानिएको जर्मनीसँग ६-० गोलले पराजित भएको मोरक्कोले दक्षिण कोरियालाई भने १-० गोलले पराजित गरेको थियो ।

हिजै भएको समूह चरणको अर्को अन्तिम खेलमा जर्मनी कोरियासँग बराबरीमा रोकिनु र यता कोलम्बियाले मोरक्कोसँग हार व्यहोरेपछि जर्मनी समूह चरणबाटै बाहिरिन पुगेको हो । एक गोलले पछि परेको जर्मनीले कोरियासँग अन्तिम समयमा १-१ गोलको बराबरी खेलेको थियो ।
यो बराबरीसँगै समूह एचबाट तीन खेलमा चार अंक जोडेर जर्मनी तेस्रो स्थानमा रहँदा कोलम्बिया र मोरक्को भने समान ६ अंक बटुलेपनि गोल अन्तरले समूह विजेता र उपविजेताको रफमा नकआउट चरण पुगेका हुन् ।
कोरिया भने एक अंक बटुल्दै पूछारमा रहन पुगेको छ । प्रि-क्वाटर फाइनलका खेलहरु भोली अगष्ट ५ देखि अगष्ट ८ सम्म खेलिनेछ ।

भोलिको पहिलो खेल नेपाली समय बिहान १०.४५ बजे स्वीटजरल्याण्ड र स्पेनबीच हुँदैछ भने दोस्रो खेल जापान र नर्वेबीच दिउँसो १.४५ बजे खेलिंदैछ ।








