बङ्गलादेशविरुद्ध पहिलो मैत्रीपूर्ण फुटबल खेल – बराबरी

बङ्गलादेशविरुद्ध पहिलो मैत्रीपूर्ण फुटबल खेलमा नेपाल बराबरीमा रोकिएको छ । ढाकाको कमलपुरस्थित वीर श्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा बिहीबार साँझ भएको खेलमा नेपालले बङ्गलादेशसँग १–१ गोलको बराबरी खेलेको हो ।पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा बङ्गलादेशले ६५औँ मिनेटमा सुरुवाती गोल गरेको थियो ।

बङ्गलादेशका लागि सविना खातुनले गोल गर्नुभयो ।त्यसपछि जोसिएको नेपालले दोस्रो हाफको इन्जुरी समयमा बराबरी गोल फर्कायो । नेपालका लागि सावित्रा भण्डारीले बराबरी गोल गर्नुभयो । राष्ट्रिय टोलीबाट सावित्राको यो ४४औं गोल हो । उहाँ नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुनुहुन्छ ।

नेपालले चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) को तयारीका लागि बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो । नेपाल र बङ्गलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।

नेपालले यसअघि बङ्गलादेशसँग गत वर्ष काठमाडौंमा भएको साफ महिला च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेको थियो । त्यतिवेला नेपाल बङ्गलादेशसँग ३–१ गोलले पराजित भएको थियो ।