
काठमाडौं, श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले स्थान बनाएको छ । कोलम्बोमा गए राति भएको दोस्रो सेमिफाइनलमा आयोजक श्रीलंकालाई ६-० गोल अन्तरले हराउँदै नेपालले फाइनलमा स्थान पक्का गरेको हो ।
नेपाललाई जित दिलाउन कप्तान प्रशान्त लक्सम लिम्बु, हरिस राज भट्ट, सुवास बम, निरोज कार्की, उनेश बुढाथोकी र सिजल राईले एक एक गोल गरेका थिए ।
यसैगरी कोलम्बोको रेस कोर्स ग्राउण्डमा खेलको २२ औं मिनेटमा प्रशान्तले पेनाल्टीमा गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाए । खेलको २३ औं मिनेटमा हरिसले गोल गर्दा नेपालको अग्रता २-० गोलको बन्यो ।३१ औं मिनेटमा सुवासले गोल गर्दै नेपाललाई तेब्बर अग्रता दिलाए ।
खेलको ३८ औं मिनेटमा निरोजले गोल गर्दै नेपाललाई ४-० गोलको अग्रता दिलाए । खेलको ५१ औं मिनेटमा उनेशले गोल गर्दै नेपाललाई ५-० गोलको अग्रता दिलाए ।
नेपालले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ भने फाइनल खेल बुधबार हुनेछ ।







