
क्वालालम्पुर, मलेसियामा जारी आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल संयुक्त अरब इमिरेटस (युएइ)सँग पराजित भएको छ । छनोटमा नेपालको यो पहिलो हार हो ।
मलेसियाको यूकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल युएईसँग १० विकेटले पराजित भएको हो ।
नेपालले दिएको ९ रनको लक्ष्य युएईले १ ओभर १ बलमा विना विकेटको क्षतिमा पूरा गरेको थियो । युएईको जितमा थिर्था सतिशले अविजित ४ रन जोडिन् भने लाभन्या केनी ३ रनमा अविजित रहिन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ८ रन जोडेको हो । इतिहासकै खराब प्रदर्शन गरेको नेपालका लागि स्नेहा महराले ३ तथा मनिष रानाले अविजित २ रन जोडिन् ।
यसैगरी छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । नेपालले तेस्रो खेल सोमबार भुटानसँग खेल्नेछ ।







