
इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले जित निकाल्दै प्लेअफ सम्भावना कायमै राखेको छ । बैंगलोरले शीर्ष स्थानको गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदै प्लेअफको सम्भावना कायम राखेको हो ।
अब बैंगलोरको प्लेअफ सम्भावना दिल्ली र मुम्बईबीचको आजको खेलले निर्धारण गर्नेछ । बैंगलोरको जितले कोलकाता, पन्जाब, हैदरावाद पनि औपचारिक रुपमा प्लेअफ होडबाट बाहिरिएका छन् । मुम्बईमा गुजरातले दिएको १६९ रनको लक्ष्य पछ्याएको बैंगलोरले १८ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।
बैंगलोरको जितमा विराट कोहलीले ७३ रनको अर्धशतकीय पारी खेले । ५४ बल खेलेका उनले ८ चौका र २ छक्का प्रहार गरे । त्यस्तै कप्तान फाप डु प्लेसिसले ४४ रन जोड्दा ग्लेन म्याक्स्वेल ४० रनको योगदान गरे । ब्लिङतर्फ गुजरातका राशिद खानले २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर १६८ रन जोडेको थियो । गुजरातका लागि कप्तान हार्दिक पान्डयले अविजित रहदै ६२ रनको अर्धशतकीय पारी खेले । डेभिड मिलरले ३४ रन बनाउँदा रिद्दीमान शाहले ३१ रन जोडे ।
बैंगलोरका जोश हाजलउडले २ विकेट लिए । त्यस्तै ग्लेन म्याक्सवेल र वानिन्दु हर्शरंगाले एक–एक विकेट लिए । यसजितसँगै बैंगलोरले बैंगलोर १४ खेलमा १६ अंक जोडेर चौंथो स्थानमा उक्लिएको छ । यसअघि नै प्लेअफमा पुगिसकेको गुजरातले शीर्ष स्थानमा १४ खेलमा २० अंक जोडेको छ ।







