
काठमाडौं – फ्रान्सेली क्लब प्यारिस सेन्ट जर्मन- पीएसजी पहिलो पटक यूएफा च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।गएराति भएको सेमिफाइनल खेलमा जर्मन क्लब आरबी लेइप्जिगलाई शून्यका विरुद्ध तीन गोलले पराजित गर्दै पीएसजीले फाइनलमा स्थान पक्का गरेको हो ।
खेलको तेह्रौ मिनेटमा मार्किन्होसले गोल गर्दै पीएसजीलाई शुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै ४२ औँ मिनेटमा एन्जल डी मारियाले अर्को एक गोल गरेका थिए ।खेलको ५६ औँ मिनेटमा जुआन बर्नाटले अर्को गोल थपेपछि पीएसजी, क्लब स्थापनाको ५० वर्षमा पहिलो पटक, च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।
जारी सिजनमा लगातार तीनवटै शीर्ष फ्रान्सेली फुटबल लिगहरु जितेको पीएसजी च्याम्पियन्स लिग पनि जित्ने दाउमा रहेको छ । साथै उत्कृष्ट फर्ममा रहेको पीएसजीमा नेयमार र एम्बापे लगायतका स्टार खेलाडीहरू छन् । आजराति हुने अन्तिम सेमिफाइनलमा जर्मन क्लब बायर्न म्युनिख र अर्को फ्रान्सेली क्लब लियोनबीच खेल हुँदैछ । उक्त खेल नेपाली समयानुसार राति १२ बजेर ४५ मिनेटमा शुरू हुनेछ ।
अब उपाधिका लागि पीएसजीले बायर्न र लियोनबीचको विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ । बायर्नले हालसम्म पाँच पटक च्याम्पियन्स लिग जितेको छ भने लियोन सेमिफाइनलसम्म मात्र पुग्न सफल भएको छ। लिगको फाइनल खेल भने आगामी आइतबार राति हुनेछ ।-





