
त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा पपुवा न्युगिनीलाई नेपालले ५० रनले पराजित गर्दै उपाधि जितेको छ ।
टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले ६ विकेट गुमाएर १६८ रन जोडेको थियो । १६९ रनको लक्ष्य पछ्याएको पीएनजीले १६.१ ओभरमा सबै विकेट गुमाउँदै ११८ रन मात्रै बनाउन सक्यो ।
मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले आलरान्डर प्रदर्शन गरेपछि नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० ले हराउँदै नेपाल च्याम्पियन बनेको हो ।
नेपाल, पीएनजी र मलेसिया तीनदेश सम्मिलित सिरिजमा नेपालले अपराजित रहँदै उपाधि जितेको हो । नेपालका लागि सन्दीप लामिछानेको कप्तानीमा यो पहिलो अन्तर्राष्ट्रिय उपाधि पनि हो । यससँगै नेपालले पीएनजीसँग दुई खेलको एकदिवसीय सिरिजमा खेपेको हारको बदला समेत लिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालका लागि दीपेन्द्र सिंह ऐरीले अविजित रहँदै ५४ रनको अर्धशतकीय इनिङ खेले । साथै उनले आजकै खेलबाट टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका छन् ।दीपेन्द्र अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।







