
फिफा विश्वकप २०२२ अन्तर्गत युरोपेली छनोटको प्लेअफ फाइनलमा स्वीडेनलाई २–० गोल अन्तरले हराउँदै पोल्यान्ड विश्वकपका लागि छनोट भएको छ।
पोल्यान्ड कतार विश्वकप २०२२ को लागि छनोट भएको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा पोल्यान्ड स्वीडेनलाई २–० गोल अन्तरले हराउँदै विश्वकपमा स्थान सुरक्षित गरेको हो । पोल्यान्डको जितका लागि कप्तान रोबर्ट लेवान्डोस्की र पिओटर जिलेन्स्कीले एक–एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरी खेलेको पोल्यान्डले दोस्रो हाफमा दुई गोल गरेको हो ।खेलको ५०औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै पोल्यान्डलाई अग्रता दिलाए । त्यसपछि ७२औं मिनेटमा पिओटर जिलेन्स्कीले गोल गर्दै पोल्यान्डलाई २–० गोलको जितसहित विश्वकपमा स्थान पक्का गरे ।







