May 31, 2023, Wednesday
२०८० जेष्ठ १८, बिहीबार

स्पेनिस ला लिगा :बिल्बाओ मालोर्कासँग ३–२ गोलले पराजित

स्पेनिस ला लिगाको मध्यम टोली एथलेटिक बिल्बाओलाई रेलिगेसन जोगाउन संघर्षरत मालोर्काको नमिठो झट्का लागेको छ । सोमबार राति भएको खेलमा बिल्बाओ मालोर्कासँग ३–२ गोलले पराजित भयो ।

घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा मालोर्कालाई जिताउन साल्भा सेभिया र एन्जलले गोल गरे । मालोर्काले अर्को गोल बिल्बाओबाट आत्मघाती उपहार पाएको थियो । बिल्बाओका राउल गार्सिया र एलेक्स बेरेङगरले गोल गरेका थिए ।

साल्भाले २२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै मालोर्कालाई सुरुवाती अग्रता दिलाए । ३०औं मिनेटमा एन्जलले भेदात मुरीक्वीको पासमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि ५९ औं मिनेटमा गार्सियाले गोल गर्दै बिल्बाओलाई खेलमा फर्काउने प्रयास गरे ।

६१औं मिनेटमा एलेक्स बेरेङगरले इकर मुनियनको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । तर ८८औं मिनेटमा बिल्बाओका उनइ सिमोनले आत्मघाती गोल गरेपछि मालोर्काको भाग्य खुलेको थियो । ५५ प्रतिशत बल पोसेसन राखेपनि पहिलो हाफमा गोल गर्न नसक्दा बिल्बाओ हार खेप्न बाध्य भयो । मालोर्काका टेकफुसा कुबो ‘म्यान अफ दि म्याच’ भए ।

हारसँगै आठौं स्थानमा यथावत रहेको बिल्बाओको २४ खेलबाट ३४ अंक छ । विजेता मालोर्का २६ अंक जोड्दै १५औं स्थानमा उक्लिएको छ । तालिकाको शीर्षस्थानमा आसिन रियल म्याड्रिडको ५४ अंक छ । दोस्रो स्थानमा रहेको सेभियाको ५०, तेस्रो स्थानमा रहेको रियल बेटिसको ४३ र चौथो स्थानमा रहेको बार्सिलोनाको ३९ अंक छ । समान ३९ अंक बनाएको साविक विजेता एट्लेटिको म्याड्रिड गोल अन्तरका आधारमा पाँचौं स्थानमा छ ।

शीर्ष समाचार

धेरै पढिएको