
काठमाडौं, आइसिसी महिला टि २० विश्वकप खेल अन्तर्गत संयुक्त अरब इमिरेट्सँग पराजित भएसँगै नेपाली महिला क्रिकेट टोलीको आगामी सन् २०२३ मा हुने टि २० विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ ।
आइसिसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम खेलमा आइतबार नेपाल युएईसँग ४८ रनले पराजित भएपछि नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको हो ।
युएई भने विजयी रहँदै एसिया क्षेत्रबाट आगमी वर्ष हुने टि २० ग्लोबल छनोटमा पुगेको छ । १२८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १९ दशमलव ४ ओभरमा जम्मा ७९ रन समेटियो ।
नेपालकी इन्दु बर्माले २० बलमा १ चौकासहित १५ रन बनाइन् भने सीता रानामगरले ८ बलमा ३ चौकासहित सर्वाधिक १३ रनमा आउट भइन् । इन्दु र सीताबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
त्यस्तै कविता कुँवर ४, रुविना क्षेत्री बेलबासे २, सरिता मगर ८, कविता जोेशी १ र करुणा भण्डारी २ रनमा आउट भए भने काजल श्रेष्ठ ८, अप्सरी बेगम ४ तथा करुणा भण्डारी २ रनमा आउट भए ।
बलिङतर्फ युएईकी समायरा धरणीरकाले ४ विकेट लिइन् भने खुशी शर्मा र चमानी सेनेविरत्नेले २–२ विकेट लिए । चया मुगलको नाममा १ विकेट लिए ।







