
काठमाडौं, ओडिआई क्रिकेटमा नेपाली क्रिकेट टोलीका युवा लेगस्पिनर सन्दीप लामिछानेले विश्व कीर्तिमान बराबरी गरेका छन् । शुक्रबार भएकाे पपुवा न्युगिनीसँगकाे खेलमा ६ विकेट लिएसँगै सन्दीपले उक्त कीर्तिमान बनाएका हुन् ।
उनले पाकिस्तानका चर्चित तीव्र गतिका बलर वाकर युनिस, शाहिन शाह अफ्रिदी, अष्ट्रेलिया स्टार स्पिनर शेन वार्न र भारतका मोहम्मद शामी जस्ता बलरको कीर्तिमान बराबर गरेका छन् । उनले ओडिआईमा लगातार तीन इनिङमा चार वा सोभन्दा बढी विकेट लिने विश्व कीर्तिमान बराबरी गरेका हुन् ।
शुक्रबार सन्दीपले ५.१ ओभरमा ११ रन खर्चेर ६ विकेट लिँदै आफ्नो करिअरकै उत्कृष्ट प्रदर्शन गरेका थिए । सन्दीपकै उत्कृष्ट बलिङमा जितको लागि २ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको पिएनजी १९.१ ओभरमा ८२ रनमा अल आउट भएको थियो ।
नेपालले पिएनजीलाई १ सय ५१ रनको फराकिलो अन्तरले पराजित गर्दै कीर्तिमान कायम गरेको छ । जुन ओडिआईमा नेपालको सर्वाधिक ठूलो जित हो ।
यसअघि ओडिआईमा नेपालको ठूलो जित सन् २०१९ मा युएईविरुद्ध १ सय ४५ रनको अन्तर थियो । ओडिआईमा लगातार चारभन्दा विकेट लिने कीर्तिमान लगातार तीन इनिङ छ ।







