March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

एम्बाप्पे चुक्दा फ्रान्स बाहिरियो

स्टार खेलाडी किलियान एम्बाप्पे पेनाल्टीबाट गोल गर्न चुक्दा फ्रान्स स्वीटजरल्याण्डसँग ट्राइब्रेकरमा ५–४ गोलअन्तरले पराजित हुँदै यूरो २०२० को अन्तिम १६ बाट नै बाहिरिएको छ । पेनाल्टी सुटआउटमा अन्तिम प्रहार गर्न आएका एम्बाप्पेको प्रहारलाई स्वीटजरल्याण्डका गोलकिपरले बचाउ गरेका थिए ।

यसअघि, निर्धारित समयको खेल ३–३ को बराबरीमा सकिएको थियो । खेलको १५ औँ मिनेटमा ह्यारिस सेफेरोविचले स्वीटजरल्याण्डलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा विश्व विजेता फ्रान्स खेलमा फर्किएको थियो । करिम बेन्जेमाले दुई मिनेटको अन्तरमा दुई गोल तथा पाउल पोग्बाले एक गोल गरेपछि फ्रान्सले खेलमा दुई गोलको अग्रता लिएको थियो ।

खेल सकिन १० मिनेट बाँकी हुँदासम्म दुई गोलको अग्रता कायम राखेको फ्रान्सविरुद्ध स्वीटजरल्याण्डले पुनरागमन गर्यो । ८१ औँ मिनेटमा सेफेरोविचले एक गोल फर्काए भने अन्तिम मिनेटमा मारियो गाभ्रानोविचले खेल बराबरी गरे । खेल पेनाल्टी सुटआउटमा पुगेछि स्वीटजरल्याण्ड विजयी बन्यो ।स्वीटजरल्याण्ड सन् १९५४ को विश्वकपपछि मुख्य प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको यो पहिलो अवसर हो । अब क्वार्टरफाइनलमा स्वीटजरल्याण्ड र स्पेन भिड्ने छन् ।

शीर्ष समाचार

धेरै पढिएको