June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

विश्वकप तथा एसियन कप छनोटको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग पराजित

काठमाडौं जेठ २९ नेपाली राष्ट्रिय फुटबल टोली विश्वकप तथा एसियन कप छनोटको अन्तिम खेलमा अष्ट्रेलियासँग पराजित भएको छ । दोस्रो हाफ १० खेलाडीमा सिमित भएको नेपालले अष्ट्रेलियासँग ३-० ले पराजित भएको हो ।पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा १ गोल खाएको हो ।

पहिलो हाफको अन्त्यतिर रोहित चन्दले रातो कार्ड पाएपछि नेपालले दोस्रो हाफ १० खेलाडीमा सिमित रहेर खेलेको थियो । यस जितसँगै अष्ट्रेलिया विश्वकप छनोटको तेस्रो चरण र एसियन कपको लागि छनोट हुँदा नेपाल भने एसियन कपको तेस्रो चरण खेल्न प्लेअफको पर्खाइमा हुनेछ ।खेलको छैटौं मिनेटमा नै अष्ट्रेलियाले अग्रता लिएको थियो ।

कप्तान म्याथ्यु लेकिले हेडरमार्फत गोल गर्दै अग्रता दिलाए । अजिज बेहिचले बायाँ विंगबाट दिएको क्रसलाई लेकिले रोहित चन्दभन्दा अघि रहेर हेडरमार्फत गोल गरेका थिए । २८ औं मिनेटमा कप्तान किरणले एज्दीन हर्स्तिचको फ्रिकिक बचाउँदै अष्ट्रेलियालाई अग्रता दोब्बर पार्न दिएनन् ।३५ औं मिनेटमा अनन्त तामाङले अष्ट्रेलियालाई गोल थप्नबाट रोके । कप्तान लेकिले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार अनन्तले उत्कृष्ट ट्याकल गर्दै रोकेका थिए ।

लगत्तै त्यसै क्लियरेन्समा नेपालको काउन्टर अट्याक विपक्षी गोलरक्षक एन्ड्रयु रेडमेनको हातमा पुगेर रोकिएको थियो । ३७ औं मिनेटमा अष्ट्रेलियाले अग्रता दोब्बर पार्यो । लेकिले दायाँ विंगमा उत्कृष्ट मुभ बनाउँदै दिएको कटब्याकमा फ्रान कारासिचले गोल गरेका थिए ।४० औं मिनेटमा मार्टिन बोएलले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहारलाई गोलरक्षक किरणले बचाए । खेलको ४४ औं मिनेटमा रोहित चन्दले रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए ।

मार्टिन बोएललाई पेनाल्टी क्षेत्र बाहिर वन भर्सेस वनको स्थितिमा अघि बढेको अवस्थामा फल गरेको भन्दै रेफ्रीले रातो कार्ड देखाएका थिए ।दोस्रो हाफको ५७ औं मिनेटमा अष्ट्रेलिया अग्रता बढाउन सफल भयो । ज्याक्सन अर्भाइनको सानदार पासलाई मार्टिन बोएलले सहजै गोल गरिदिए । अर्भाइनले पेनाल्टी क्षेत्र बाहिरबाट नेपालको डिफेन्स लाइनलाई चिर्दै निकालेको पासलाई फार पोस्टमा बोएलले सहजै गोल गरे । ५९ औं मिनेटमा ह्यारी सुटरको प्रहार पोस्टमा लागेर फर्कंदा स्कोर ३-० नै कायम रहयो ।७६ औं मिनेटमा हर्स्तिचको पेनाल्टी क्षेत्र बाहिरको प्रहार सिधै गोलरक्षक किरणको हातमा पुगेको थियो ।

८४ औं मिनेटमा किरणले लगातार दुई बचाउ गर्दै स्कोर बदलिन दिएनन् । इन्ज्युरी समयमा नेपालका लागि तीन खेलाडीले डेब्यु गरेका थिए । सुरज जिउ ठकुरी, आयुष घलान र कमल थापाले मैदान प्रवेश गर्दै राष्ट्रिय सिनियर टोलीबाट पहिलो खेल खेले ।

यस हारसँगै नेपालको एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना सकिएको छ । अब तेस्रो चरण पुग्न नेपालले प्लेअफ चरण पार गर्नुपर्ने हुन्छ । सबै समूहका पुछारका टोली र चौथो स्थानमा रहने कमजोर चार टोलीले प्लेअफमा प्रतिस्पर्धा गर्नेछन् । अष्ट्रेलिया भने ७ खेलमा २१ अंकसहित विश्वकप छनोटको तेस्रो चरण तथा एसियन कपका लागि छनोट भएको छ । नेपाल भने ८ खेलमा ६ अंकसहित चौथो स्थानमा रहयो । हाम्रो खेलकुद

शीर्ष समाचार

धेरै पढिएको