
काठमाडौं, काठमाडौं रेजर्स प्रथम नेपाल सुपर लिग फ्रेञ्चाइज कप फुटबल प्रतियोगिताको विजेता भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङशालामा शनिबार सम्पन्न भएको खेलमा काठमाडौंले धनगढीलाई १–० गोलले हराउँदै नेपाल सुपर लिग फुटबल फ्रेञ्चाइजको च्याम्पियन बनेको हो ।
उपाधिसँगै काठमाडौं रेजर्सले ३५ लाख रुपियाँ र ट्रफी हात पारेको छ । दोस्रो स्थानमा चित्त बुझाएको धनगढी एफसीले १५ लाख रुपियाँबाट पुरस्कृत भएको छ ।
काठमाडौंले फाइनलमा जितसँगै लिग चरणमा ०–३ र पहिलो प्ले अफमा १–२ ले धनगढीसँग बेहोरेको हारको बदला समेत पुरा गर्यो । काठमाडौंको जितमा विदेशी खेलाडी मेसौके ओलुमोउले गरेको एक मात्र गोल नै उपाधि दिलाउन पर्याप्त भयो ।
उनले पहिलो हाफको २१ औं मिनेटमा गोल गरेका थिव । प्रतियोगितामा काठमाडौंले १४ औं गोल गरेकोमा मेसौकेको यो आठौं गोल हो । विशाल राईबाट बल खोस्दै विश्वास श्रेष्ठको पासलाई ओलुमोउले उत्कृष्ट फिनिश दिदै गोल गरेका थिए ।







