
काठमाडौं, इङ्ग्लिस प्रिमियर लिगको जारी सिजनमा म्यानचेस्टर सिटी उपाधि नजिक पुगेको छ । प्रिमियर लिग अन्तर्गत शनिबार साँझ सम्पन्न भएको खेलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई २-० ले पराजित गरेको छ ।
क्रिस्टल प्यालेसको घरेलु मैदानमा भएको यो जितसँगै सिटीले चौथो वर्षमा तेस्रो पटक प्रिमियर लिग उपाधि पक्का गर्न लागेको छ । भोलि हुने खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको खण्डमा सिटीले उपाधि पक्का गर्नेछ ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सिटीलाई जितताउन सार्जियो अगुएरो र फेर्नान टोरेसले १-१ गोल गरेका थिए ।
प्रशिक्षक ग्वार्डिओलाले च्याम्पियन्स लिगमा पिएसजीविरुद्ध विजेता टिमका अधिकांश सदस्यलाई विश्राम दिएको खेलको ५७ औं मिनटमा सार्जियो अगुएरोले गोल गरे ।
त्यसको २ मिनटपछि फेर्नान टोरेसले गोल गर्दै सिटीलाई २-० को सहज जित दिलाएका थिए । जितसँगै सिटीले शीर्ष स्थानमा १३ अंकको अग्रता बनाएको छ । सिटीले ३४ खेलमा ८० अंक जोडेको छ ।
३३ खेलमा ६७ अंक जोडेको म्यानचेस्टर युनाइटेड लिगको दोस्रो स्थानमा छ । यस्तै ३३ खेलमा ३८ अंक जोडेको क्रिस्टल प्यालेस तालिकाको १३ औं स्थानमा छ ।







