
किर्तिपुर, त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको उपाधिका लागि आज घरेलु टोली नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेल शनिबार दिउँसो सवा १ बजे त्रिवि क्रिकेट मैदान किर्तिपुरमा हुनेछ।
जारी सिरिजमा उत्कृष्ट प्रर्दशन गरिरहेको नेपाल पहिलो त्रिकोणात्मक सिरिज जित्ने होडमा छ । नेपाली राष्ट्रिय टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले गर्नेछन् भने नेदरल्यान्ड्सको कमानी पिटर शिलारले सम्हाल्नेछन् ।
यस्तै लिग चरणको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गर्दै सिरिजमा सानदार सुरुवात गरेको थियो । दोस्रो खेलमा भने नेपाल नेदरल्याण्डसँग ३ विकेटले पराजित हुन पुग्यो।
सो खेलमा नेपालले नेदरल्याण्डलाइ २ सय ७ रनको विशाल लक्ष्य दिएपनि पाहुना टोलीले ३ बल अगावै लक्ष्य भेट्टाएको हो । मलेसियालाई भने नेपालले पहिलो खेलमा ९ विकेट तथा दोस्रो खेलमा ६९ रनले पराजित गरेको थियो ।







