
चेन्नई, इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गए राति भएको खेलमा पञ्जाब किङ्ग्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । पाँच खेलमा दोस्रो जितसँगै पञ्जाब किङ्ग्स अंक तालिकाको पाँचौं स्थानमा पुगेको हो ।
पहिला ब्याटिङ गरेको मुम्बई इन्डियन्सले पञ्जाव किङ्ग्सलाई १३२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । पञ्जाबले उक्त लक्ष्यलाई एक विकेटको क्षतिमा १४ बल अगावै पूरा गरेको हो ।
पञ्जाबको जितमा कप्तान केएल राहुलले अर्धशतकीय पारी खेल्दै ६० रन बनाए भने क्रिस गेलले ४३ रन जोडे ।
यसअघि मुम्बईका लागि कप्तान रोहित शर्माले अर्धशतकीय पारी खेल्दै स्कोरलाई सम्मानजक अवस्थामा पुर्याएका थिए । निर्धारित २० ओभरमा ६ विकेट गुमाएर मुम्बईले १३१ रन बनाएको थियो ।
मुम्बईका लागि रोहितले ६३, सूर्यकुमार यादवले ३३ र किरन पोलार्डले १६ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । पञ्जावका लागि मोहम्मद शामी र रवि बिस्नोइले किफायती बलिङ गरे ।







