
काठमाडौं, म्यानचेष्टर सिटी र रियल मड्रिड च्याम्पियन्स लीग फूटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
च्याम्पियन्स लीग अन्तर्गत क्वाटरफाइनलको दोस्रो लेगमा बोरुसिया डर्टमण्डलाई २-१ गोलले हराउँदै समग्रमा ४–२ को नतिजासहित म्यानचेष्टर सिटी अन्तिम चारमा स्थान सुरक्षित पारेको हो ।
घरेलु मैदानमा बोरुसियाले १५औं मिनेटमै जुड बेलिन्ह्यामको गोलसँगै अग्रता बनाएको थियो । तर त्यसपछि सिटीले लगातार दुई गोल थपेको थियो ।
उसका लागि ५५औं मिनेटमा पेनाल्टीमार्फत रियाद महरेज र ७५औं मिनेटमा फिल फोडेनले गोल गरेका थिए ।
पहिलो लेग सिटीले घरेलु मैदानमा २–१ ले नै जितेको थियो । अब सेमिफाइनलमा सिटी र पीएसजीबीच खेल हुनेछ ।







