
काठमाडौं, यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई पराजित गरेको छ ।
गएराति घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीले डर्टमुन्डलाई २–१ गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा केभिन डि ब्रुयन र फिल फोडेनले गोल गरका थिए ।
डर्टमुन्डका मार्को रिउसले एक गोल फर्काए । खेलको १९औं मिनेटमा केभिन डि ब्रुयनले रियाद महारेजको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । खेलको ८४औं मिनेटमा कप्तान मार्को रिउसले गोल गर्दै खेललाई १–१ बराबरीमा ल्याए ।
खेलको ९०औं मिनेटमा इल्केए गुन्डोगानको पासमा फिल फोडेनले गोल गर्दै सिटीलाई २–१ को जित दिलाएका थिए ।
जितसँगै सिटीको अन्तिम चारमा पुग्ने सम्भावना बलियो भएको छ । दोस्रो लेगमा सोही लयलाई निरन्तरता दिएमा सिटीले सेमिफाइनल यात्रा तय गर्नेछ । दोस्रो लेग १५ अप्रिलमा डर्टमुन्डको मैदानमा हुनेछ ।एजेन्सी







