
काठमाडौं, नेपाल त्रिदेशीय कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले बङ्गलादेशलाई गोलरहित बराबरीमा रोकेसँगै किर्गिस्तान प्रतियोगिताबाटै बाहिरिएको छ ।
नेपालले फाइनलमा बङ्गलादेशकै सामना गर्ने तय भएको छ भने फाइनल खेल सोमबार दशरथ रङ्शालामा साँझ साढे पाँच बजेबाट हुनेछ । उक्त प्रतियोगिताको विजेता टोली पाँच हजार अमेरिकी डलरबाट पुरस्कृत हुनेछन् ।
नेपालले प्रतियोगितामा गोल नगर्दै र जित हात नपार्दै फाइनलसम्मको यात्रा तय गरेको जुन बिरलै अवसर हो । यसअघि नेपालले पहिलो खेलमा किर्गिस्तानसँग पनि गोलरहित बराबरी खेलेको थियो ।
आफ्नो दुबै खेलमा अङ्क बाँडेको नेपालले दुई खेलबाट दुई अङ्क जोडेको छ । किर्गिस्तानसँग जितेर पुरा तीन अङ्क बटुलेको बङ्गलादेशले भने नेपालसँग बराबरी खेल्दै अङ्क बाँड्दै चार अङ्कसहित शीर्ष स्थानमा छ ।







