
काठमाडौं, प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले एपीएफ क्लबलाई २ सय १२ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ११ रनको योगफल तयार पारेको हो ।
मध्यम सुरुवात गरेका आर्मीका ओपनिङ ब्याट्सम्यान सुशान भारी १३ र अनिल मण्डल ११ रनमा पवेलियन फर्के ।
हरि चौहान ५८ रनमा क्याच आउट भए। १ सय २ बलको सामना गरेका चौहान ६ चौका हान्दै अभिनाश बोहोराको बलमा कमल ऐरीको हातबाट क्याचआउट भए। भीम सार्की र कप्तान विनोद भण्डारी समान ७ रनमा आउट भए ।
छैटौं विकेटका लागि हरि चौहान र राजेश पुलामीले ४४ रनको साझेदारी गरे । २९ बलको सामना गरेका राजेश २८ रन जोड्दै आउट भए । उनले १ छक्का र २ चौका प्रहार गरे । ९ बलको सामना गरेका लोकेश बम २ छक्का सहयोगमा १५ रन जोडे।
विक्रम शोब ११ रनमा क्याच आउट भए । १४ बलको सामना गरेका साहब आलम २ चौका र १ छक्का हान्दै २५ रनमा नटआउट रहे भने जितेन्द्र मुखिया शून्य रनमा नटआउट रहे ।
कसिलो बलिङ गरेका एपीएफका अविनास बोहोरा एक्लैले ४ विकेट लिए । अभिनासले आफ्नो स्पेलमा २ मेडन राख्दै २५ रन खर्चे ।







