
काठमाडौं, क्याटलान क्लब बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ । बुधबार राति भएकाे खेलमा टाइब्रेकरमा रियल सोसीडाडलाई ३-२ ले पराजित गर्दै बार्सिलोना फाइनलमा पुगेकाे हाे ।
निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो भने थप ३० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुग्यो ।
टाइब्रेकरमा बार्सिलाेनाकाे लागि ओस्मान डेम्बेलेले, मिरालेम प्यानिच, रिकी पुजले गाेल गरे । एन्टोइन ग्रिजमन र डे जोङको प्रहारले भने टाइब्रेकरमा गाेल गर्न सकेनन् ।
डे जोङको प्रहार पोस्टमा लागेर फर्किएको थियो भने ग्रिजमनको प्रहार आकासिएकाे थियाे । टाइब्रेकरमा बार्सिलोनाका गोलरक्षक टेर स्टेगनले दुई प्रहार बचाएका थिए ।
त्यसअघि खेलको ३९ औं मिनेटमा बार्सिलोनाले फ्रेन्की डे जोङको गोलमा अग्रता लिएको थियो । एन्टोइन ग्रिजमनको क्रसमा डे जोङले हेडरमार्फत गोल गर्दै अग्रता दिलाए ।
कप्तान लिओनेल मेस्सीबिना उत्रिएको बार्सिलोनाले पहिलो हाफमा थुप्रै अवसर सिर्जना गरेपनि त्यसको सदुपयोग गर्न सकेन ।
दोस्रो हाफको सुरुवातमै सोसीडाडले खेल बराबरीमा ल्यायो । डे जोङले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि रेफ्रीले पेनाल्टी दिए ।
उक्त पेनाल्टीलाई मिकेल ओयाराज्बालले गोलमा परिणत गर्दै सोसीडाडलाई खेलमा फर्काए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल अतिरिक्त समयतर्फ धकेलिएकाे थियाे ।एजेन्सी






