January 17, 2021, Sunday
२०७७ माघ ५, सोमबार

महिला र पुरुष खेलाडीको पारिश्रमिक बराबर

  • 1
    Share

काठमाडौं, अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडीको पारिश्रमिक वृद्धि गर्दै महिला र पुरुष खेलाडीको पारिश्रमिक बराबर गर्ने निर्णय गरेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा बिहीबार बसेको एन्फा कार्यसमिति बैठकले खेलाडीको तलब वृद्धि गर्दै पुरुष र महिला खेलाडीलाई समान तलब दिने निर्णय गरेको हो ।

पुरुषतर्फ ३ हजार र महिलातर्फ ११ हजार रुपैयाँ तलव बृद्धि भएको छ । एन्फाको यो निर्णयअनुसार अब राष्ट्रिय फुटबल टिमका सदस्यहरूको मासिक १८ हजार रुपैयाँ प्राप्त गर्नेछ । यसअघि राष्ट्रिय पुरुष टिमका खेलाडीले मासिक १५ हजार र महिला खेलाडीले ७ हजार तलब पाउँदै आएका थिए ।

यस्तै, बैठकले फिफा रेफ्रीको तलब पनि साविकको ६ हजार बाट बढाएर मासिक १० हजार रुपैयाँमा पुर्यायको छ । यस्तै, एन्फाले स्थगित भएको बी डिभिजन लिग सुचारु गर्न तथा राष्ट्रिय महिला लिग, प्रदेश लिग, एन्फा प्रेसिडेन्ट लिग, सी डिभिजनलगायत अन्य प्रतियोगिता गर्न पनि राखेपसँग स्वीकृति माग्ने भएको छ ।

कार्यसमितिले एन्फा कम्प्लेक्समा रहेको कृतिम घाँसे खेल मैदानमा पनि फ्लडलाइट जडान गर्ने निर्णय गरेको छ । एन्फा कम्प्लेक्समै रहेको फिटनेस सेन्टरको स्तरोन्नति गर्नुका साथै सोभिनिएर सप निर्माण गर्ने प्रस्ताव पनि पारित भएको छ । यसका लागि दिनेश व्यञ्जनकारलाई संयोजक तोकिएको छ ।

एन्फाले युवा विकास परियोजना पारित गर्दै एन्फाअन्तर्गतकै विभिन्न विभागहरूको रणनीतिक योजना पनि अनुमोदन गरेको छ । एन्फाले माघ ६ गते साधारण सभा आयोजना गर्न राष्ट्रिय खेलकुद परिषद्मा स्वीकृतीका लागि अनुरोध गर्नेछ । एन्फा क्लब लाइसेन्सिङ लागू गर्न मापदण्डहरू पनि पारित गरिएको राजधानी दैनिकमा खबर छ । जिल्लामा फुटबल प्रशिक्षण केन्द्र स्थापना तथा निर्माण गर्न सम्पूर्ण प्रक्रिया पूरा गरेका १२ जिल्लामा एन्फाले स्थानीय निकायसँग कुल लागतको ५० प्रतिशत साझेदारी गर्ने निर्णय पनि गरेको छ । यस्तै, कास्कीमा एन्फाले बहुउद्देश्यीय फुटबल प्राविधिक केन्द्र निर्माण गर्ने निर्णय पनि पारित गरेको छ । सँगसँगै फुटसल तथा बिच सकर प्रतियोगिता आयोजना गर्ने र एन्फाको मुद्दति खाता नवीकरण गर्ने निर्णय गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको