January 24, 2021, Sunday
२०७७ माघ ११, आईतवार

आज तमु ल्होसार गुरुङ समुदायले घरघरमा मनाउँदै, सुदूरपश्चिममा ‘पुषे १५’

  • 14
    Shares

काठमाडौं, गुरुङ समुदायले आज घरघरमा पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायका मानिसको विश्वास छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।

गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको पाइन्छ ।

यस अवसरमा विगत वर्षमा झै टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्ने गरिएकामा यस वर्ष कोरोना महामारीका कारण घरघरमै मनाइने गुरुङ समाजले जनाएको छ ।

यसैगरी सुदूरपश्चिमबासीहरुले आजकाे दिनलाई ‘पुषे १५’ काे नाममा मनाउने गर्छन् । स्थानीय मौलिक पर्वका रुपमा पुषे पन्ध्र पर्व मनाउँदै आएकाे पाइन्छ ।

आज सबैभन्दा लामाे र चिसाे रात हुने मान्यताअनुसार साँझदेखि राति अबेरसम्म मीष्ठान्न परिकार बनाई खाँदै एकआपसमा भेला भएर रमाइलाे गरी मनाउने चलन छ । बातै अर्थात लाेककथाहरु सुन्ने/सुनाउने गरी राति अबेरसम्म रमाइलाे गर्दै जाग्राम बस्ने गर्छन ।

आजको दिन तरुल, सखरखण्ड, फर्सी, पिँडालु, चाखु/सख्खर र माडा लगायत परिकार खाँदै जीउ तताउने गरिन्छ । त्यस्तै आजको दिनमा वनपूजा पनि गरिन्छ ।

याे चाड पनि सूर्यकाे माेसनसँगै सम्बन्धित छ । पुष १५ पछि दिन लामाे हुँदै जाने र रात छाेटिँदै जाने तथा सूर्यकाे उत्तरायण गति सुरु भएर धरतीमा तापमान बढ्दै जाने विश्वास गरिन्छ ।

शीर्ष समाचार

धेरै पढिएको