April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

बालाचतुर्दशीमा देवघाट नआउन समितिको आग्रह

चितवन, कोरोना संक्रमण जोखिम ध्यानमा राख्दै देवघाट क्षेत्र विकास समितिले बालाचतुर्दशीमा देवघाट नआउन आग्रह गरेको छ । मङ्सिर २८ गते पर्ने यस धार्मिक पर्वमा भक्तजनको भीड हुने भएकाले नआउन आग्रह गरिएको हो ।

समितिले एक विज्ञप्ति प्रकाशित गरी मङ्सिर २७ साँझदेखि २८ गतेसम्म लाग्ने बालाचतुर्दशी मेलामा देवघाटमा तीर्थयात्रीको अत्यधिक आगमन हुन सक्नेतर्फ सचेत गराएको छ । सो विज्ञप्तिमा कोरोना भाइरसको जोखिम यथावत रहेकाले देवघाट नआउन आग्रह गरिएको जनाएको छ ।

समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारको मेला, पर्व, उत्सवमा भीडभाड नगर्ने नीति कायम रहेको उल्लेख गर्दै उक्त पर्व पनि घरमै बसी मनाउन आग्रह गरिएको छ । बालाचतुर्दशीमा देवघाटमा सदबिज छर्ने भक्तजनको ठूलो भीड लाग्ने गर्दछ । यहाँ सदबिज छर्ने र स्नान गरेमा मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।

देवघाटधाममा बसोबास गर्ने अधिकांश वृद्धवृद्धा रहेका र कोरोनाको सङ्क्रमण फैलिएमा अप्ठ्यारो स्थिति सिर्जना हुनसक्ने भएकाले नआउन आग्रह गरिएको समितिका अध्यक्ष शिवराज पौडेलले बताएका छन् ।

उनले अन्य धार्मिक पर्वमा समेत देवघाट नआउन आग्रह गरिँदै आएको बताए । अन्त्येष्टि कर्ममा समेत थोरै सङ्ख्यामा मलामी आएर भौतिक दूरी कायम गर्दै अन्त्येष्टि गर्न आग्रह गरिँदै आएको उनले जानकारी दिए ।

शीर्ष समाचार

धेरै पढिएको