
काठमाडौँ, मध्यपुरथिमि कमेरोटारमा अग्लो पर्खालबाट आमा छोरा हाम फाल्दा आमाको मृत्यु भएको छ । मोरङ सुन्दर हरैचा नगरपालिका–९ विराटचोक स्थायी घर भई हाल मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारमा डेरा गरी बस्दै आएका आमा–छोरा एकैसाथ ५० मिटर अग्लो पर्खालबाट हामफाल्दा आमाको मृत्यु भएको छ भने छोरा गम्भीर घाइते भएका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेका अनुसार कमेरोटारस्थित डेरा कोठा नजिकै रहेको कमेरोटारको पिपल चौतारोबाट हामफाल्दा ७४ वर्षीया मनमाया तिमिल्सिनाको घटनास्थलमै मृत्यु भएको हो ।
पर्खालबाट हामफाल्दा गम्भीर घाइते भएका मृतकका कान्छो छोरा ४९ वर्षीय मातुराम तिमिल्सिनाको मध्यपुर अस्पतालमा प्राथमिक उपचारपश्चात वीर अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी घटनाबारे प्रारम्भिक अनुसन्धान गर्दा घटनामा संलग्न दुवै जना डिप्रेशनको बिरामी रही लामो समयदेखि औषधि सेवन गर्दै आइरहेको पाइएको र थप उपचार भइरहेको जनाइएको छ ।
घटनास्थलमा सुसाइट नोटसमेत भेटिएको छ ।
यसैबीच महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीका अनुसार १९ वर्षदेखि डिप्रेसनको औषधि सेवन गर्दा भएको शारीरिक र मानसिक पीडा सहन नसकी मृत्यु रोजेको विषय लेखेको छ भने हाल घटनाबारे अनुसन्धान जारी छ ।





