
चितवन, जिल्लामा नजिकिदै गरेको मुख्य चाडपर्व दसैँदेखि तिहारसम्म ३० हजारभन्दा बढी खसीबोका खपत हुने अनुमान गरिएको छ । चितवनमा उत्पादित ८० प्रतिशत यही खपत हुने र बाँकी अन्य जिल्लाबाट ल्याउने गरेको छ ।
भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र भरतपुरले जिल्लामा मुख्य चाडपर्वको समयमा दैनिक एक हजार ५०० हाराहारी खसीबोका खपत हुने अनुमान गरेको छ । अनुसार दसैँ र तिहारको एक महिनाको समयमा ४६२ मेट्रिकटन खसीबोकाको मासु र ३९ मेट्रिक टन च्याङ्ग्राको मासु खपत हुने अनुमान रहेको कार्यालयका पशु विकास अधिकृत रामचन्द्र आचार्यले जानकारी दिएका छन् ।
यसैगरी जिल्लामा ४०२ व्यावसायिक बाख्रा फर्म छन् भने ती फर्ममा तीन लाख १० हजार ५१७ बाख्रा रहेको आचार्य बताउनुहुन्छ । तीमध्ये दुई लाख १७ हजार ३६१ खसीबोका रहेका छन् ।
यसरी ठूलो सङ्ख्यामा खसीबोका जिल्लामा उत्पादन भए पनि छिमेकी जिल्लाबाट समेत खसीबोका आउने गरेको उनको भनाइ छ ।







