संयुक्त अरब इमिरेट्स (युएई) मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट प्रवास नेपाली सम्पर्क विभागको प्रथम अधिवेशनबाट सुजन थापा प्रमुख पदमा निर्विरोध चयन भएका छन्। अधिवेशनका लागि खुल्ला रूपमा उम्मेदवारी माग आह्वान गरिएको थियो ।निर्वाचन समितिका संयोजक उमाकान्त पाण्डेका अनुसार कुनै पनि पदमा आवश्यक भन्दा धेरै उम्मेदवारी नपरेपछि नयाँ कार्यसमिति निर्विरोध भएको हो । प्रमुखसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू निर्विरोध भएको निर्वाचन समितिले घोषणा गरेको हो ।
विभागको नयाँ नेतृत्वमा युगमाया पाण्डे र अमरराज राई उपप्रमुखमा चयन भएका छन् भने जगन्नाथ अधिकारी कोषाध्यक्ष बनेका छन्। सचिवमा जगन्नाथ लुइँटेल तथा सहसचिवमा सुमित्रा बारघरे निर्विरोध चयन भएका छन्। त्यसैगरी कार्यसमिति सदस्यहरूमा देवीलाल रावत, ध्रुवराज आचार्य, छत्रप्रसाद खरेल, दिवस क्षेत्री, हरिहर सापकोटा, वसन्तकुमार काफ्ले, भीमकुमारी खत्री, लक्ष्मी खवास मगर , खगेन्द्र अर्याल , र स्वाबिन भुजेल चयन भएका छन्।
युएईमा रहेका नेपाली समुदायबीच रास्वपाको संगठन विस्तार, प्रवासी नेपालीका हकहितका मुद्दा उठान तथा जनस्तरमा सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यका साथ प्रथम अधिवेशन सम्पन्न गरिएको संगठनले जनाएको छ।
रास्वपाले विदेशस्थित विभिन्न देशहरूमा प्रवास नेपाली सम्पर्क विभाग गठन तथा अधिवेशनमार्फत संगठन विस्तारलाई तीव्रता दिँदै आएको छ।अधिवेशनका लागि प्रवास नेपाली सम्पर्क विभाग युएईका प्रमुख सल्लाहकार प्रेमराज ढकालको प्रमुख आतिथ्यता तथा प्रवास विभागका सचिव पदमराज पन्थीको भर्चुअल सम्बोधन मार्फत अधिवेशन सम्पन्न गरिएको हो ।







