May 23, 2025, Friday
२०८२ जेष्ठ १०, शुक्रबार

काेरियामा किराँती राष्ट्रिय मुक्ति मोर्चा भेला आयोजक कमिटी गठन

दक्षिण काेरियामा किराँती राष्ट्रिय मुक्ति मोर्चा भेला आयोजक कमिटी मे ५ तारिखका दिन गठन भएको छ ।

“किराँती राष्ट्रिय मुक्ति मोर्चाको कोरिया संयोजक सञ्जाल”
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को जातीय मोर्चा किराँती राष्ट्रिय मुक्ति मोर्चाले प्रवासमा रहेका किराँती समुदायलाई गोलबद्ध बनाउँदै ऐतिहासिक पहिचानको रक्षा र वर्गीय मुक्तिको सवाललाई जोडेर समग्र नेपाली समाजको मुक्तिको लागि किराँती समुदायको आवाज बुलन्द बनाउनका लागि प्रवासमा किराँती राष्ट्रिय मुक्ति मोर्चा निर्माण गरेकाे छ।

प्रवासमा पनि किराँती युवाहरुलाई किराँती राष्ट्रिय मुक्ति मोर्चामा संगठित गराउने मुल उद्देश्यको साथ दक्षिण कोरियामा आफ्नो संगठन निर्माणको क्रममा वैशाख २२ गते , ५ मे २०२५ मा प्रमुख अतिथि किराँती राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय उपाध्यक्ष अशोक राई, विशेष अतिथि माओवादी केन्द्रको प्रवास संगठन नेपाली जनप्रगतिशिल मञ्च दक्षिण कोरियाको केन्द्रीय अध्यक्ष जीवन खतिवडा, अतिथिहरु नेकपा (माओवादी केन्द्र) पूर्वी एसिया सदस्य केबी चाम्लिङ, नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाको उपाध्यक्ष तथा आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको सचिव बि.बि स्याङ्तान र तामाङ राष्ट्रिय मुक्ति मोर्चा कोरियाको संयोजक सुनिल तामाङलगायतको आतिथ्यतामा जुम भर्चुअल माध्यमबाट नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाको मातहतमा रहने गरी किराँती राष्ट्रिय मुक्ति मोर्चा भेला आयोजक कमिटी गठन गरिएको छ ।

नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाको सहकोषाध्यक्ष सुरज राई किराँतीको सभापतित्वमा सम्पन्न कार्यक्रमले सञ्जाल किराँतीको नेतृत्वमा २३ सदस्यीय भेला आयोजक समिति गठन गरेको छ ।

उक्त समितिमा संयोजक- नहकुल राई “सञ्जाल किराँती” (खोटाङ्ग), सदस्यहरु: राम साम्पाङ (भोजपुर), टियास राई (खोटाङ), प्रदिप राई (उदयपुर), उत्तम कुलुङ (सोलुखुम्बु), च्वाईस किराती “बिगब्याङ” (ओखलढुङ्गा), सागर किराँती (मोरङ), निर्मल राई (धनकुटा), डिम्पल राई (उदयपुर) , फूलमान राई (भोजपुर), ज्योतिहाङ राई (भोजपुर), जीवन चाम्लिङ (उदयपुर), अनिश कुलुङ (सोलुखुम्बु), सिम्पल राई (उदयपुर), अनोज चाम्लिङ (खोटाङ), हिरादेवी राई (सोलुखुम्बु), देव राई (उदयपुर), लोकेन्द्र राई (खोटाङ), दुर्योधन राई (ओखलढुङ्गा), लोचन थुलुङ (सोलुखुम्बु), भरत राई (सुनसरी), देवान चाम्लिङ (भोजपुर) र किसन राई (उदयपुर) रहेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) १ न. प्रदेश सचिवालय सदस्य तथा किराँती राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय उपाध्यक्ष क. अशोक राईले “विज्ञान र प्रविधिको यो युगमा संसारभर छरिएका किराँती युवाहरु प्रविधिकै प्रयोग मार्फत एकजुट हुँदै आफूहरुले प्रवासमा रहँदा आर्जन गरेको सीप र ज्ञानबाट समाज र राष्ट्रलाई समृद्धि तुल्याउन महत्त्वपूर्ण भूमिका हुने भएकोले त्यो दिशा तर्फ युवाहरु अग्रसर हुँदै अघि वढ्नुपर्ने बताउनु भयो।

त्यसैगरी विशिष्ट अतिथि नेकपा (माओवादी केन्द्र) एसिया प्रवास प्रदेश कमिटि सदस्य तथा नेपाली जनप्रगतिशीलमञ्च दक्षिण कोरियाको अध्यक्ष जीवन खतिवडाले संविधानसभाको पहिलो निर्वाचनपछि पार्टी एकताको क्रमसँगै र विशेष गरि नेकपा कालमा हाम्रो पार्टीले संगठित गरेको किराँती राष्ट्रिय मुक्ति मोर्चा निष्क्रिय बन्न पुगेको र ऐतिहासिक पहिचानको मुद्दा पनि क्रमश: ओझेलमा परेको प्रसंग उठाउँदै अब पार्टीले सचेततापूर्वक तमाम उत्पीडित जाति, वर्ग, क्षेत्र, लिङ्ग र समुदायलाई अधिकार सम्पन्न गर्ने पनि बताउनुभएको छ ।

उहाँले भनाइलाई थप्दै यो ऐतिहासिक दौरानमा विश्वमा छरिएका उर्जाशील किराँती युवाहरुलाई किराँती राष्ट्रिय मुक्ति मोर्चामा संगठित गर्दै पहिचानको मुद्दा र वर्गीय आन्दोलनलाई समायोजन गराउनुपर्ने कुरा उल्लेख गर्नुभएको छ।

त्यसैगरी खतिवडाले पूर्वतिर प्रदेशको नामाङ्कनको विषयमा राई र लिम्बू विचमै विग्रह सिर्जना गराएर पहिचान विस्थापन गर्न चाहने तत्वहरूलाई र समग्र राज्यलाई पनि धरानमा हुन गइरहेको किराँती राष्ट्रिय मुक्ति मोर्चा र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको संयुक्त राष्ट्रिय सम्मेलनले एकताको सन्देश दिने र पहिचानको आधारमा प्रदेशको पुन: नामाङ्कनको लागि सशक्त माध्यम हुने बताउँदै दक्षिण कोरियामा पनि किराँती राष्ट्रिय मुक्ति मोर्चा निर्माण त्यही अभिष्ट प्राप्तिको लागि पहिलो पाईला भएको बताउनु भएको हाे ।