काठमाडौं, कोरोना महामारीले आवत जावतमा भएको कठिनाईका कारण प्रवेशमा असहज भएपछि दक्षिण कोरियामा कार्यरत इपिएस कामदारहरुका लागि फेरि पनि भिसा थपिएको छ ।

कोरियाको श्रमिक युनियन र रोजगारदाता संगठनसँग श्रम मन्त्रालयमा भएको बैठकले त्यहाँ काम गरिरहेका र भिसा अवधि सकिन लागेका श्रमिकको भिसा पुनः एक वर्ष थप गर्ने निर्णय गरेको हो ।
उक्त बैठकले सन २०२२ को जनवरी १ तारिखबाट अप्रिल १२ तारिखसम्म अर्थात ४ वर्ष १० महिनाको भिसा अवधि सकिने इपिएस कामदारहरुका लागि पुनः १ बर्ष भिजा थपिदिने भएको हो ।
अप्रिल १२ भन्दा पछाडी भिजा अवधि सकिने कामदारहरुको लागि भने त्यस बेलाको कोरोना अवस्था र कामदारको आवश्यकता अध्ययन गरि निर्णय गरिनेछ ।
मन्त्रालयका अनुसार यसअघि १ वर्ष थप भिजा पाएका कामदारहरु भने अब थप हुने अवधिमा समावेश हुने छैनन् । यसअघि पनि दक्षिण कोरियाले कामदार अभावको समस्या सुल्झाउन भन्दै भिसा अवधि सकिन लागेका इपिएस कामदारहरुको भिसा अवधि १ बर्ष थपेको थियो ।
यसैबीच कोरियाले इपिएस भाषा परीक्षा पास गरि कोरिया प्रवेशको पर्खाइमा रहेका कामदारहरुको प्रकृयामा भने कुनै पनि ढिलाई नगर्ने जनाएको छ । भाषा पास गरी आवश्यक प्रकृया पुरा गरेका कामदारहरुलाई जतिसक्दो चाडो स्वदेश भित्र्याउन दक्षिण कोरिया तयार रहेको बताइएको छ ।







